aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बिग मर्जरको हावा, राम्रा कम्पनीको शेयर बेचेर कमजोर बैंकको किन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ असार २०७६
बिग मर्जरको हावा,  राम्रा कम्पनीको शेयर बेचेर कमजोर बैंकको किन्दै

काठमाडौं, । बिग मर्जरको हावा शेयर बजारमा पनि पसेको छ । अहिले राम्रा कम्पनीको शेयर बिक्री गरेर कमजोर र सस्ता वाणिज्य बैंकको शेयर किन्ने होडबाडी नै चलेको छ ।  गत शुक्रबार मात्र मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका ग्लोबल आइएमई बैंक र जनता बैंकको शेयरको तुलना गर्दा ग्लोबल आइएमईको शेयर खरिद गरेकाले भन्दा जनता बैंकका शेयरधनीले धेरै कमाउने भन्दै खाकासहितको तथाकथित हावादारी विश्लेषण सामाजिक सञ्जालमार्फत फैलाइएको थियो । 


गाभ्ने बैंकको भन्दा गाभिने बैंकको शेयर किन्दा फाइदा हुने हावा फैलाइएको छ । त्यसैको पछाडि लागेर अहिले कमजोर वाणिज्य बैंकको शेयर खरिद गर्ने लहर नै लागेको छ । यसैकारण सिभिल बैंकको शेयर आइतबार र सोमबार धेरै कारोबार भएको छ । उक्त बैंकले अरुलाई गाम्भ सक्ने सम्भावना छैन । तर, गाभिन सक्ने सम्भावना भएकाले शेयर किन्ने बढेका हुन् ।

पछिल्लो समय गाभिने बैंकले गाम्ने बैंकसँग बाग्रेनिड गर्ने र गाभिने बैंकका लगानीकर्ताले तुलनात्मक रुपमा धेरै मूल्य पाउने भएकाले पनि कमजोर बैंकको शेयर खरिद गर्नेको चाप बढेको शेयर विश्लेषणको भनाइ छ । ग्लोबल आइएमई बैंकले जनता बैंकका शेयरधनीलाई ८५ प्रतिशत दिने भएको छ । यस्तै अन्य गाभिने बैंकले पनि उच्च मूल्य पाउने अपेक्षा गरेका कारण कमजोर बैंकको शेयर माग बढेको हो ।

नेप्से निरन्तर ओरालो लागे पनि तुलनात्मक रुपमा कमजोर मानिएका वाणिज्य बैंकको शेयर खरिद गर्ने लगानीकर्ताको घुइँचो नै लागेको ब्रोकरको भनाइ छ । अरुलाई गाभ्ने स्तरमा रहेका भन्दा गाभिन जाने बैंकको शेयर बढी माग भइरहेको ती ब्रोकरले बताए । पछिल्लो सयम गाभिने बैंकको शेयर कारोबार बढी हुने र त्यस्ता बैंकको मूल्य बढेको छ । अरुमा गाभिदा राम्रो शेयर मूल्य पाउन सकिने भएकाले त्यस्ता बैंकहरुको शेयर मूल्य बढेको  हो । साना बैंकहरुले मर्जमा जानुअघि स्वाप रेसियोमै बार्गेनिङ गर्ने र उचित मूल्य खोज्ने भएकाले आकर्षण बढेको लगानीकर्ताको भनाइ छ ।

सस्ता बैंकको मूल्य बढ्नुको प्रमुख कारण बिग मर्जर हल्ला नै रहेको शेयर विश्लेषको भनाइ छ । ‘मर्जरमा स्वाप रेसियोको अनुपात मिलाउँदा फाइदा हुन्छ भन्ने लगानीकर्ताको अपेक्षाका कारण आपूर्ति कम र माग बढी भएका कारण मूल्य पनि बढ्न पुगेको छ ।’ ती विश्लेषकले भने  । 

वाणिज्य बैंक भने बिग मर्जरमा जान त्यति इच्छुक देखिएका छैनन् । अहिलेसम्म १७ वाणिज्य बैंक मर्जरमा जाने चाहना राखे पनि गाभिन जाने पक्षमा छैनन् । आफ्नो नाम निसाना नै मेटेर गाभिने पक्षमा नभएको बैंक सञ्चालकहरु बताउँछन् । तर, गाभिन आउनेलाई सधैं ढोका खुला भएको उनीहरुको भनाइ छ ।


पछिल्लो समय कमजोर वाणिज्य बैंकको शेयर बढी खरिद हुने गरेको छ । यो साताको पहिलो दुई दिनलाई मात्र हेर्ने हो भने सिभिल, मेगा, लक्ष्मी, सेञ्चुरी, कुमारी, प्रभु र एनसीसी बैंकको शेयर कारोबार बढी भएको छ । बिग मर्जरमा बैंक जान तयार नभए पनि शेयर बजारमा भने बिग मर्जरको हावा व्यापाक रुपमा चलेको छ । यस्तो हल्लाले लगानीकर्ता डुब्ने खतरा पनि त्यत्तिनै छ ।
 

प्रतिक्रिया दिनुहोस