aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कुमारी बैंकको खुद नाफा करिब ७३ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ साउन २०७८
कुमारी बैंकको खुद नाफा करिब ७३ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ७२ दशमलव ७४ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रू. १ अर्ब १५ करोडभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २ अर्बभन्दा बढी खुद नाफा गरेको हो । 

अघिल्लो वर्षभन्दा कम्पनीको खुद ब्याज आम्दानी ४६ दशमलव ५६ प्रतिशत बृद्धि हुँदा सञ्चालन नाफा ६९ दशमलव १६ प्रतिशत बृद्धि भएको छ । गत वर्ष कम्पनीले रू. ५ अर्ब २३ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको हो भने रू. २ अर्ब ८५ करोडभन्दा बढी सञ्चालन नाफा भएको हो ।

गत वर्ष चौथो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा अघिल्लो वर्षभन्दा ५३ दशमलव ४९ प्रतिशत बृद्धि भई रू. १ अर्ब ९ करोडभन्दा बढी कायम भएको छ । १० दशमलव ८५ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार पुगेको छ भने जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ७ दशमलव ८३ प्रतिशत बढी रू. ५ अर्ब ११ करोड ९८ लाखभन्दा बढी कायम भएको छ ।

कम्पनीको निक्षेप संकलन अघिल्लो वर्षभन्दा साढे २७ प्रतिशत बढी रू. १ खर्ब ४८ अर्ब ६९ करोडभन्दा बढी र कर्जा प्रवाह २४ दशमलव ६४ प्रतिशत बृद्धि भई रू. १ खर्ब ३७ अर्ब ९९ करोडभन्दा बढी भएको छ ।

कम्पनीको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ३९ प्रतिशत रहेकोमा गत वर्ष शून्य दशमलव ४१ प्रतिशत विन्दु घटेर १ दशमलव शून्य ८ मा झरेको छ । प्रतिशेयर आम्दानी रू. १४ दशमलव ४२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ८९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस