
काठमाडौं, चैत ९ । धेरै बैंक तथा वित्तीय संस्था हुँदा अनुगमन गर्न अप्ठ्यारो हुने भन्दै विश्व बैंकले वाणिज्यको संख्या घटाउन फेरि नेपाल राष्ट्र बैंकलाई दबाब दिन थालेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चार गुणासम्म चुक्ता पुँजी पुर्याउने निर्णय गरे पनि विकास बैंक र वित्त कम्पनीको मात्रै संख्या घटेकाले वाणिज्य बैंकको संख्या घटाउन विश्व बैंकले पुनः दबाब दिएको हो ।
चुक्ता पुँजी वृद्धि गरेको छोटो अवधिमा नै फेरि विश्व बैंकको अर्को दबाब आएपछि अब के गर्ने भन्ने सोचाइमा राष्ट्र बैंक पुगेको छ । विश्व बैंकले यसअघि पनि वाणिज्य बैंकहरुको संख्या १२ देखि १५ को हाराहारीमा राख्न सुझाव दिँदै आएको थियो । तर, राष्ट्र बैंकले त्यसलाई कार्यान्वयनमा ल्याएको थिएन । यसपटक संख्या घटाएरै १२ वटामा सीमित गर्न राष्ट्र बैंक दबाब दिइरहेको स्रोतको भनाइ छ ।
दुई अर्ब भएका वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब पुर्याउँदा पनि संख्या नघटेपछि राष्ट्र बैंक पनि चिन्तित छ । चुक्ता पुँजी बढाउँदा पनि वाणिज्य बैंकको संख्या नघटेपछि गभर्नर डा. चिरन्जीवी नेपालले पुनः दबाब खेप्नु परेको राष्ट्र बैंक स्रोतको भनाइ छ । यतिबेला गर्भनर नेपाल कसरी बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन सकिन्छ भन्ने उपायको खोजीमा लागेको बताइएको छ । तर, गर्भनर नेपालले उपयुक्त उपाय निकाल्न भने सकिरहेका छैनन् ।
गभर्नर नेपालले घुमाउरो पारामा अझै पनि बैंकको चुक्ता पुँजी बढ्न सक्ने संकेत दिँदै आएका छन् । केही दिन अघि एक सार्वजनिक कार्यक्रममा गभर्नर नेपालले दुई अर्ब भएका बैंकको चुक्ता पुँजी बढाएर आठ अर्ब पुुर्याउँदा गाली गर्नेहरु अहिले आठ अर्ब चुक्ता पुँजी पनि कम भएको बताउन थालेको जनाएका छन् ।
यसको अर्थ आगामी मौद्रिक नीतिमा हकप्रद जारी नगरी वाणिज्य बैंकको चुक्ता वाणिज्य बैैंकहरुकोको पुँजी दोब्बर बनाउन सक्ने सम्भावना बढेको सरोकारवालाहरु बताउँछन् । बैंकरहरुको मनसाय बुझ्न गभर्नर नेपालले त्यस्तो अस्त्र फ्याँकेको बताइन्छ । उनको त्यस्तो अभिव्यक्तिलाई बैंकरहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । आगामी मौद्रिक नीतिमा चुक्ता पुँजी पुनः बढाएर वाणिज्य बैंकको संख्या घटाउने नीति गर्भनर नेपालले ल्याएमा आचश्र्य नमाने हुने भएको छ ।
चुक्ता पुँजी बढाएपछि २८ वटा वाणिज्य बैंकलाई एक दर्जनभन्दा कम संख्यामा झार्न सकिने अनुमान यसअघि उनले गरेका थिए । तर, त्यो सफल हुन सकेन । हाल २८ वाणिज्य बैंक सञ्चालनमा छन् । तर, ती वाणिज्य बैंकलाई अझै घटाउन सक्ने सामर्थ उनीमा तत्कालका लागि देखिएको छैन । तर, विश्व बैंकले भने गर्भनर नेपाललाई दबाब दिइरहेको छ । उनले न विश्व बैंकलाई घटाउँछु भन्न सकेका छन, न त कुनै तरिकाले बैंकको संख्या घटाउने उपाय निकाल्न सकेका छन् । अहिले गभर्नर नेपाल दोधारमा छन् ।
सार्कस्तरमै नेपालमा वाणिज्य बैंक संख्या बढी छ । यसअघि सार्क मुलुकमा वाणिज्य बैंकको चुक्ता पुँजी सबैैभन्दा कम भएको भन्दै विश्व बैंकले चुक्ता पुँजी बढाएर संख्या घटाउन सकिने सुझाव दिएको थियो । त्यसैअनुसार चुक्ता पुँजी बढाउँदा पनि संख्या भने घटेन । बैंक सञ्चालकहरुले अर्को बैंकबाट ऋण लिएर भए पनि हकप्रदको माध्यमबाट लगानी थपेर चुक्ता पुँजी बढाउन थालेपछि केन्द्रीय बैंकलाई अप्ठ्यारोमा परेको हो ।
यसअघि पनि चुक्ता पुँजी बढाउने विषयलाई राष्ट्र बैंकले घुमाउरो पारामा नेपालका बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी सार्क राष्ट्र«मै कम भएकाले बढाउनुपर्ने स्थिति आएको बताउँदै आएको थियो । मोही माग्ने ढुङग्रो लुकाउने भने जस्तै विश्व बैंकको दबाबमा संख्या घटाउन चुक्ता पुँजीको प्रावधान ल्याएको भन्न उसले सकेको थिएनन् । ठूला आयोजनामा लगानी गर्न ८–१० वटा वाणिज्य बैंक मिलेर आउनुपर्ने स्थिति भएकाले त्यसबाट मुक्ति दिलाउन पनि पुँजी बढाउनु परेको राष्ट्र बैंकले तर्क गर्दै आएको थियो । तर, उसले विश्व बैंकको दबाबका कारण पुँजी बढाउनु परेको अहिलेसम्म भनेको छैन र अब पनि भन्ने पक्षमा छैनन् ।
राष्ट्र बैंकले फेरि अहिले चुक्ता पुँजीको अस्त्र ल्याउने सम्भावना बढेको छ । छोटो अवधिमा राष्ट्र« बैंकले पुँजी बढाउने योजना ल्याए पनि बैंक तथा वित्तीय संस्थाले त्यसलाई सजिलैसँग लिन सक्ने सम्भावना भने छैन ।
प्रतिक्रिया दिनुहोस