
काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा बिहीवारसम्म १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरिदका लागि आवेदन परेको हो । जुन मागभन्दा ४८ दशमलव २१ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आइपीओ खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ७ करोड रहेको छ । आइपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस