
काठमाडौं । विभिन्न पाँच बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, मेगा बैंक र हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस्, कुन बैंकले कति नाफा कमाए ?
एभरेष्ट बैंक
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ८२ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष बैंकको खुद नाफा २७ दशमलव ३४ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष बैंकले रू. १ अर्ब ६७ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको सञ्चालन नाफा २६ दशमलव ९६ प्रतिशत कम भएको छ । खुद ब्याज आम्दानी २५ दशमलव ४३ प्रतिशतले घटेकोले गत वर्ष कम्पनीको सञ्चालन नाफामा असर परेको हो । गत चौथो त्रैमाससम्म भने बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ३६ करोड ४९ लाखभन्दा बढी रहेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा भने ४१ दशमलव ३५ प्रतिशत बृद्धि भएको हो ।
५ प्रतिशत बोनस शेयर वितरण गरी बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९३ करोड ३७ लाख १७ हजार पुगेको छ भने रिटेन्ड अर्निंग सहित जगेडा कोष रकम रू. ११ अर्ब ७५ करोड १५ लाख भन्दा बढी कायम भएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको जगेडा कोष रकम १६ प्रतिशत बृद्धि भएको हो ।
गत वर्ष बैंकको निक्षेप संकलन ११ दशमलव ६२ प्रतिशत बढी र कर्जा प्रवाह १३ दशमलव ७९ प्रतिशत बढी भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव २२ रहेकोमा गत वर्ष शून्य दशमलव १२ मा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २० दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. २३२ दशमलव ५८ छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ५० दशमलव ६९ प्रतिशत बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष रू. २ अर्ब ४२ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष रू. ३ अर्ब ६५ करोड १४ लाखभन्दा बढी यो नाफा गरेको हो । बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा साढे ४९ प्रतिशत बढी रू. ५ अर्ब २५ करोड ५१ लाखभन्दा बढी भएको छ ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३ दशमलव २० प्रतिशत घटेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको इम्पेरमेण्ट चार्ज बढेकाले पनि सञ्चालन नाफासँगै खुद नाफा बढ्न सहयोग मिलेको हो । अघिल्लो वर्ष रू. १ अर्ब ९९ करोडभन्दा बढी इम्पेरमेण्ट चार्ज रहेको बैंकको गत वर्ष रू. ३७ करोड ७९ लाख १३ हजार मात्र रहेको छ ।
अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य मुनाफा भने २०५ दशमलव ५५ प्रतिशत बढी रू. १ अर्ब ९९ करोड ३३ लाखभन्दा बढी कायम भएको छ । १४ दशमलव शून्य ९ प्रतिशत चुक्तापूँजी बृद्धि भई रू. १६ अर्ब २५ करोड ७३ लाख ३० हजार पुगेको बैंकको जगेडा कोष रकम २३ दशमलव ८७ प्रतिशत बढेर रू. १६ अर्ब ९७ लाख ४८ हजार कायम भएको छ ।
बैंकले गत वर्ष अघिल्लो वर्षभन्दा ५ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १६ दशमलव १५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ दशमलव ९१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ४६ प्रतिशतमा झरेको छ भने बैंकको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. ५ दशमलव ४५ रहेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५४ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक भएको बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ९ दशमलव २० प्रतिशत बढेको हो । अघिल्लो वर्ष बैंकको यो नाफा रू. १ अर्ब १२ करोड ७२ लाखभन्दा बढी रहेको थियो ।
गत वर्ष खुद ब्याज आम्दानी भने ७ प्रतिशत कम भएको बैंकको कुल सञ्चालन आम्दानी साढे ७ प्रतिशतले बढ्दा सञ्चालन नाफा ७ दशमलव ६६ प्रतिशत बृद्धि भएको छ । गत वर्ष बैंकको सञ्चालन नाफा भने रू. २ अर्ब १७ करोड ९७ लाख ७४ हजार छ ।
यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने अघिल्लो वर्षभन्दा करिब ११ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. १ अर्ब १२ करोड ७२ लाखभन्दा बढी रहेको बैंकको वितरणयोग्य नाफा गत वर्ष रू. १ अर्ब ३६ लाखभन्दा बढी रहेको छ ।
९ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. १० अर्ब ६९ करोड ५६ लाख ९० हजार कायम गरेको बैंकको जगेडा कोष रकम ४७ दशमलव २९ प्रतिशत बढेर रू. ६ अर्ब १३ करोड ९ लाख ८ हजार कायम भएको छ ।
अघिल्लो वर्षभन्दा बैंकको निक्षेप संकलन ४७ दशमलव २९ प्रतिशत र कर्जा प्रवाह साढे १६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष १ दशमलव शून्य ४ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर १ दशमलव २१ प्रतिशत पुगेको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ४१ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ३२ रहेको छ ।
मेगा बैंक
मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ३० करोड २५ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा गत वर्ष खुद नाफा ४५ दशमलव १६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ५८ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी करिब ३९ प्रतिशत बढ्दा सञ्चालन नाफा ४६ दशमलव ३० प्रतिशत बढेको छ । गत वर्षृ बैंकको खुद ब्याज आम्दानी रू. ५ अर्ब ८० करोडभन्दा बढी र सञ्चालन नाफा रू. ३ अर्ब २७ करोडभन्दा बढी भएको हो ।
यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ५१ करोड ५८ लाखभन्दा बढी छ । अघिल्लो वर्ष यो रकम रू. १ अर्ब ११ करोड ५९ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा करिब ३६ प्रतिशत बढी भएको हो । ११ दशमलव ५४ प्रतिशतले पूँजी बृद्धि गरी रू. १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार पु¥याएको बैंकको जगेडा कोष रकम करिब १६ प्रतिशत बढी रू. ५ अर्ब ६४ करोड ८७ लाख कायम भएको छ ।
अघिल्लो वर्षभन्दा गत वर्ष बैंकले ७ प्रतिशत बढी निक्षेप संकलन र २४ दशमलव २८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव २ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव २६ प्रतिशत पुगेको छ । यो अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ७१ र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ११ रहेको छ ।
हिमालयन बैंक
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले रू. २ अर्ब ९९ करोड ८० लाख खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको वित्तिय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १५ दशमलव ९० प्रतिशतले खुद नाफा बृद्धि भएको हो । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा भने ६५ दशमलव ७४ प्रतिशत बढी रू. २ अर्ब १६ करोड ९८ लाखभन्दा बढी रहेको छ ।
अघिल्लो वर्षभन्दा २१ दशमलव ४३ प्रतिशत कम रू. ३ अर्ब ७८ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको बैंकको इम्पेरमेण्ट चार्ज घट्दा सञ्चालन नाफा २६ दशमलव २७ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ३० करोड ५६ लाखभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. १४ करोड ५३ लाखभन्दा बढी मात्र भएको छ ।
१४ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. १० अर्ब ६८ करोड ४४ लाख पु¥याएको बैंकको जगेडा कोष रकम रू. ९ अर्ब ३९ करोड ६१ लाखभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा १४ दशमलव ३५ प्रतिशत बृद्धि भएको हो ।
बैंकले अघिल्लो वर्षभन्दा १४ दशमलव ३५ प्रतिशत बढी निक्षेप संकलन र १२ दशमलव ५८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव शून्य १ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर शून्य दशमलव ४८ प्रतिशतमा सिमित भएको छ । गत चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. २८ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. १८७ दशमलव ९४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस