aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सांग्रिला बैंकको नाफा बढेसँगै इपीएसमा उल्लेख्य सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ साउन २०७८
सांग्रिला  बैंकको नाफा बढेसँगै इपीएसमा उल्लेख्य सुधार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमाससम्म खूद नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफा ११८.१८ प्रतिशतले बढाएको छ  । 

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म १९ करोड १० लाख रुपैयाँमा सीमित नाफा बढेर यो वर्ष ४१ करोड ६९ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यही अवधिसम्म २६ करोड ७७ लाख रहेको संचालन मुनाफामा समेत उत्साहजनक वृद्धि भई ५६ करोड १ लाख पुगेको छ । 

कोभिड कहरमै पनि व्यवसाय वृद्धि भएका कारण खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख पुगेको हो । 

आइतबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब ७३ करोड चूक्तापुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सांग्रीला बैंकले ४२ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको हो ।

अघिल्लो वर्ष १५ करोड ३४ लाखमा सीमित रिटेन अर्निङ बढेर यो वर्ष ३० करोड ४६ लाखको उचाईमा पुगेको छ भने ५४ करोड ५९ लाखमा सीमित रिजर्बको आकार बढेर ६७ करोड ५२ लाख पुगेको छ । बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी(इपीएस) समेत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु. ७.३३ मात्र रहेको इपीएस बढेर यो वर्ष रु.१५.२३ पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ । असार मसान्तको प्रतिसेयर नेटवर्थ रु. १३५.८१, पीई अनुपात २७.८३ गुणा र क्यापिटल एडेक्वेसी रेसियो ११.८६ प्रतिशत रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस