aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तपाईंहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
तपाईंहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले सोधे “तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।” उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुहरुलाई आग्रह गरे ।

“तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु ।” मन्त्री शर्माले भने “तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिवी निवारणमा सहयोग गर्नुस् ।” सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म व्याज लिने गरेको सुन्नमा आएको भन्दै उहाँले त्यसलाई घटाउनुपर्ने बताए । 

कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घटनाहरु देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे । उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।  

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।  देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस