
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले ऋणीहरुका लागि एक सूचना जारी गरेको छ । बैंकले कोरोना भाइरस (कोभिड–१९) का कारणले समस्यामा परेका ऋणीलाई सहुलियत दिने स्किम ल्याएको हो ।
बैंकले बुधबार एक सूचना जारी गर्दै कोरोना भाइरस वा अन्य जुनसुकै कारणले ऋण नबुझाएर उनीहरुले लगेको पैसा निष्क्रिय ऋणमा परिवर्तन भइसकेको जनाएको छ । उनीहरुलाई ऋण तिर्नका लागि भेटेर वा सार्वजनिक सूचना तथा पत्राचार गर्दा पनि सम्पर्कमा नआएको बैंकले जनाएको छ । यस्ता ऋणीलाई सेञ्चुरी बैंकले १५ दिनको समय दिएर विभिन्न छुट दिने स्किम ल्याएको हो। यस्ता ऋणीले छुट पाउनका लगि बैंकको पुतलीसडकस्थित कार्यालयमा सम्पर्क राख्नुपर्ने बैंकले जनाएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार खराब ऋणमा परिणत भएको ऋण १५ दिनभित्र भुक्तानी गरेमा बैंकले ब्याज, हर्जाना ब्याजलगायत ब्याजको ब्याजमा समेत निश्चित समयसम्मको लागि विशेष छुट दिने छ। यदि १५ दिनभित्र पनि नतिरेमा बैंकले कानुनी प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस