
काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंक बिच मर्जरको छलफलले तीव्रता पाएको छ। यी दुवै बैंकका महत्त्वपूर्ण सञ्चालकहरूबिच भएको पछिल्लो छलफलले मर्जरलाई निष्कर्ष उन्मुख बनाएको हो।
बैंक अफ काठमाण्डूका एक सञ्चालकका अनुसार अघिल्लो शुक्रवार चन्द्रागिरि रिसोर्टमा दुवै बैंकका सञ्चालक र जिम्मेवार अधिकारीहरू बिच अनौपचारिक छलफल भएको हो। सो छलफलले मर्जरको प्रक्रिया र त्यसकालागि आवश्यक पर्ने प्राविधिक विषयका बारेमा लगभग कुरा टुङ्ग्याएको स्रोतले जनाएको छ। त्यहाँ समझदारी पत्रको प्रारम्भिक खाका समेत तयार भएको स्रोतको दाबी छ। तथापि, यो विषयले अन्तिम रूप भने पाइसकेको छैन।
त्यसो त बैंक अफ काठमाण्डूले मर्जरको लागि मेगा बैंक, सनराइज बैंक र सिद्धार्थ बैकसँग पनि छलफल जारी नै राखेको छ। यी बैंकहरु बिच एक आपसमा मर्ज गर्ने विषयमा पटक पटक छलफल भएको सम्बन्धित बैंकका सञ्चालकहरूले स्वीकार गरेका छन्।
साउन २९ गते शुक्रवार भएको बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंकका सञ्चालकहरूको बैठकमा प्रारम्भिक छलफल भएको बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले आर्थिक न्युज डटकमलाई जानकारी दिए । उनले भने, 'धेरै बैकसँग प्रारम्भिक छलफलहरू चलिरहेका छन् । जसमध्येको उपयुक्त पार्टनरसँग मर्ज गर्नका लागि हामी लागिरहेका छौँ ।'
यदि बीओकेसँग मर्ज भयो भने ग्लोबल आइएमइ बैंक नेपाल कै सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने छ । यसभन्दा पहिला करिब दुई वटा वाणिज्य बैंकहरु 'कमर्स एण्ड ट्रष्ट' र जनता बैंकलाई ग्लोबल आइएमइले आफूमा मर्ज गराइसकेको छ । त्यस अलावा ग्लोबल आइएमइ बैंकले करिब डेढ दर्जन अन्य साना बैंक तथा वित्तीय संस्थाहरू आफूमा गाभिसकेको छ ।
बि.स. २०७३ सालमा बिओकेसँग लुम्बिनी बैंक १०० बराबर ८२.८१ को शेयर अनुपातमा गाभिएको थियो । त्यसपछि बैंकको सञ्चालक समितिमा बिओकेबाट पाँच र लुम्बिनीबाट चार जना सञ्चालक रहेर बैंक सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस