
काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिकरूपले घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशिकाअनुसार कुनै पनि ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो ऋण भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गर्न भनेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्जिन प्रकृतिको शेयर धितो कर्जा १२ करोड रुपैयाँसम्म मात्रै कायम गरिएको छ । त्यसमा एउटा संस्थाबाट चार करोड र सबै संस्थाबाट लिएको भए रु १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था गरिएको छ ।
शेयर बजारमा गएको कर्जाको मात्रा बढी भएको पाइएपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सीमा लगाएको छ । सोही सीमाका आधारमा मंगलबार जारी मौद्रिक नीतिको कार्यान्वयन एकीकृत निर्देशिकामा थप प्रष्ट पारिएको छ ।
प्रतिक्रिया दिनुहोस