aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
मौद्रिक नीतिको चटारोमा राष्ट्र बैंक

बिग मर्जरको सकस, बनाउन खोजेको हलो बन्दैछ मुंग्रो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
बिग मर्जरको सकस, बनाउन खोजेको हलो बन्दैछ मुंग्रो

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने चटारोमा नेपाल राष्ट्र बैंक छ । चालू आर्थिक वर्ष सकिन पाँच दिन मात्रै बाँकी छ । यो अवधिभित्र मौद्रिक नीति ल्याउनुपर्ने बाध्यता राष्ट्र बैंकलाई छ । 

राष्ट्र बैंक अनुसन्धान विभागका कर्मचारी भने जेठ महिनाको मुलुकको आर्थिक अवस्थाको तथ्यांक जोड घटाउमा नै व्यस्त छन् । त्यो विवरण सार्वजनिक गरेलगत्तै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरिरहेको छ ।मुलुक यतिबेला मौद्रिक नीतिको बहसमा छ । अर्को वर्षका लागि केन्द्रीय बैंकले कस्तो मौद्रिक नीति ल्याउला भन्नेमा सर्वसाधारणको पनि चासो उत्तिकै छ । 

खासगरी, राष्ट्र बैंक अनुसन्धान विभागका कर्मचारी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने बिषय नछुटुन् र नदोहोरिउन भन्ने उद्देश्यले अहोरात्र खटिएका छन् । विगतका वर्षमा मौद्रिक नीति असारभित्रै सार्वजनिक गरिएको थियो । यस वर्षको मौद्रिक नीति पनि यही महिनाभित्र ल्याउन अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएसँगै राष्ट बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठ र राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख गुणाकर भट्टलगायतका कर्मचारी खटिन पुगेका हुन् ।


अर्थमन्त्री खतिवडाले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मूल्यवृद्धिको सिमाभित्र रहेर मौद्रिक नीति ल्याउन निर्देशन दिएका छन् । राष्ट्र बैंक बिग मर्जरको नीति ल्याउने कि नल्याउने भन्ने बारेमा अन्योलमा छ । गभर्नर नेपालले बिग मर्जलाई आफ्नो प्रतिष्टासँग गासेका छन् । तर, डेपुटी गभर्नर शिवाकोटी बिग मर्जर ल्याउन नहुने पक्षमा उभिएका छन् । उनले बिग मर्जर बाध्यकारी बनाउन नहुने र स्वच्छिक रुपमा छाडिदिनुपर्ने पक्षमा उभिएका छन् ।

बिग मर्जरमा जानका लागि प्रोत्साहन स्वरुप कर छुट लगायतको व्यवस्था गरेर जानुपर्ने पक्षमा छन् । तर, गभर्नर भने बिग मर्जरलाई बाध्यकारी बनाउने पक्षमा छन् । पछिल्लो समय गभर्नर मात्र बिग मर्जको पक्षमा छन् । उनी राष्ट्र बैंक सञ्चालक समितिमा एक्ला बृहस्पती बन्न पुगेका छन् । 

अरु सबै बिग मर्ज स्वच्छिक बनाउनुपर्नेमा उभिएका छन् । गभर्नर बिग मर्जरको पक्षमा एक्लै उभिएकाले उनले सोचेजस्तो बिग मर्जरको नआउने भएको छ । कर छुटको व्यवस्था सहितको स्वच्छिक मर्जर ल्याउने तयारी भएको छ । २८ वाणिज्य बैंकलाई बिग मर्जर गराएर १०–१२ मा झार्ने बाध्यकारी व्यवस्था नल्याइने भएको छ । राष्ट्र बैंकका एक उच्च कर्मचारीले हलो बनाउन खोजिएको बिग मर्जर मुंग्रो बन्न पुगेको संक्षिप्त प्रतिक्रिया दिए । 

यतिबेला बिग मर्जरका कारण बैंक तथा वित्तीय क्षेत्रमा मौद्रिक नीतिको व्यापक चासो छ । शेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा छन् । उनीहरुको आकांक्षा पनि मौद्रिक नीति कस्तो आउला भन्ने छ । बिग मर्जर ल्याउने भनिएकाले आगामी मौद्रिक नीतिलाई सबै तहका नागरिकले उत्सुकतापूर्वक हेरेका छन् । बिग मर्जर ल्याउने हो कि होइन ।  ल्यायो भने कस्तो ल्याउने हो भन्ने कौतुहलता छ । 

बैंकका एक कर्मचारीले अर्को कर्मचारलाई भेट्दा पनि बिग मर्जरका बारेमा कुरा गर्ने गर्छन्, राष्ट्र बैंकले बिग मर्जर ल्याउन लागेको हो कि होइन थाहा पाउनु भएको छ भन्ने गर्छन् । अझ राष्ट्र बैंकका उच्च तहका कर्मचारीसँग घुलमिल हुने कर्मचारी रहेछ भने त तपाईंको त राष्ट्र बैंकका  फलानो (उच्च तहका) कर्मचारीसँग सम्पर्क हुन्छ, बिग मर्जरका बारेमा तपाईंलाई थाहा नभए अरु कसलाई थाहा हुन्छ र ? भन्ने जस्ता प्रश्न तेर्साउने गर्छन् । बिग मर्जर हुने हो कि होइन भन्ने चिन्तामा छन् । बिग मर्जरको बिषय थप बहसको बिषय बन्दै गए पनि बिग मर्जर ‘हात्ती आयो हात्ती आयो फुस्स’ भने जस्तै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस