काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर भदौ २१ गतेदेखि लिलामीमा आएको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको ३ लाख ८१ हजार ९०२ कित्ता, आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार ६५ र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता शेयर भदौ ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।
नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता रू.१ हजार २९४, आरएमडिसी लघुवित्तको प्रतिकित्ता रू. ५४१ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५२९ तोकिएको छ । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
मेरो माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्तको शेयर खरिदका लागि आवेदन दिदाँ न्यूनतम १ हजार कित्ता र नागरिक लगानीकोषको शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । अधिकतम कित्ता खरिदका लागि भने कुनै हद तोकिएको छैन् ।
यी कम्पनीहरुको लिलामी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा भदौ २१ गतेपछि प्रस्ताव गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न सक्ने जानकारी कम्पनीहरुले जानकारी दिएका छन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस