
काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंक बिच मर्जर गर्ने सम्बन्धमा सम्झौता नै भैसकेको खुलासा भएको छ। यी दुई बैंक बिच साउन २९ गते मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको बैंक अफ काठमाण्डू सम्बद्ध स्रोतले जानकारी दिएको हो।
यसअघि साउन २९ गते चन्द्रागिरि रिसोर्टमा यस सम्बन्धी प्रारम्भिक छलफल मात्र भएको भन्ने समाचार सार्वजनिक भएको थियो। तर, बैंकको उच्च तहमा रहेको विश्वस्त स्रोतले भन्यो, "छलफल मात्र होइन सम्झौता नै भइसकेको छ। स्वाप रेसियो देखि अरू धेरै कुरामा समेत सहमति जुटिसकेको छ।"
ग्लोबल आइएमई बैंकका एक उच्च पदस्थ कर्मचारीले समेत सो कुरा स्वीकारे। उनले जानकारी दिए अनुसार ९० देखि ९५ को स्वाप रेसियो बिओकेले पाउने सहमति भएको छ। बिचमा मर्जर प्रक्रिया भाँडिने सम्भावनालाई मध्यनजर गर्दै यो कामलाई अति तीव्र गतिमा सम्पन्न गर्ने भन्ने समेत दुई बैंकका सच्न्चालक बिच सहमति भएको बुझिएको छ।
बैंक स्रोतका अनुसार दुवै बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट अर्थात् पुस मसान्तसम्मको वित्तीय विवरण भने एउटै प्रकाशन गर्ने स्तरमा मर्जर प्रक्रिया अघि बढाउन तयार भएका हुन्। दुवै बैंकका महत्त्वपूर्ण सञ्चालकहरूबिच भएको पछिल्लो छलफलले मर्जरलाई मूर्त रूप दिने गरी आधार तयार बनाएको हो।
सो छलफलले मर्जरको प्रक्रिया र त्यसकालागि आवश्यक पर्ने प्राविधिक विषयका बारेमा पनि लगभग कुरा टुङ्ग्याएको स्रोतले जनाएको छ। त्यहाँ समझदारी पत्रको प्रारम्भिक खाका माथि गम्भीर छलफल भएको र सम्झौता पत्रमा जिम्मेवार व्यक्तिहरूले हस्ताक्षर समेत गरेको स्रोतको दाबी छ। यो विषयलाई भदौ अन्तिम साता सार्वजनिक गर्ने तयारीमा दुवै बैंक रहेको पनि स्रोतले बताएको छ।
बैंक अफ काठमाण्डूले मर्जरको लागि मेगा बैंक, सनराइज बैंक र सिद्धार्थ बैकसँग पनि छलफल चलाइरहेको थियो भने ग्लोबल आइएमई पनि सर्वाधिक ठुलो बैंक बन्न उपयुक्त पार्टनरको खोजीमा थियो। यही क्रममा यी दुई बैंकहरु बिच एक आपसमा मर्ज गर्ने विषयमा पटक पटक भएको छलफलले मूर्त रूप लिएको हो।
यदि बीओकेसँग मर्ज गर्ने ग्लोबल आइएमइ बैंकको तयारीमा कुनै तगारो लागेन भने यो बैंक नेपाल कै सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने छ । यसभन्दा पहिला करिब दुई वटा वाणिज्य बैंकहरु 'कमर्स एण्ड ट्रष्ट' र जनता बैंकलाई ग्लोबल आइएमइले आफूमा मर्ज गराइसकेको छ । त्यस अलावा ग्लोबल आइएमइ बैंकले करिब डेढ दर्जन अन्य साना बैंक तथा वित्तीय संस्थाहरू आफूमा गाभिसकेको छ ।
बि.स. २०७३ सालमा बिओकेसँग लुम्बिनी बैंक १०० बराबर ८२.८१ को शेयर अनुपातमा गाभिएको थियो । त्यसपछि बैंकको सञ्चालक समितिमा बिओकेबाट पाँच र लुम्बिनीबाट चार जना सञ्चालक रहेर बैंक सञ्चालन गरिएको थियो ।
यो पनि पढ्नुहोस् : मर्जरको लागि पार्टनर खोज्दै बैंक अफ काठमाण्डू, ग्लोबल आइएमईसँग कुरा मिल्ने अधिक सम्भावना
प्रतिक्रिया दिनुहोस