aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

मेगा बैंकले सात सय महिला कर्मचारीलाई दर खुवाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
मेगा बैंकले सात सय महिला कर्मचारीलाई दर खुवाउँदै

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको सर्वाधिक महत्त्वपूर्ण चाड तीजको विशेष अर्थात् 'दर खाने दिन' हो, आज बुधवार। यही अवसरमा महिलाहरूले चलाएको बैङ्कका रूपमा परिचित मेगा बैंकले आफ्ना ७ सय भन्दा बढी महिला कर्मचारीलाई दर खुवाउने भएको छ।  

तीजमा माइतीले छोरी चेलीलाई घरमा बोलाएर मीठा मीठा परिकार खुवाउने चलन छ। तीजको पहिलो दिन आज दर खाने दिन हो। यसै दिनबाट तीज पर्वको सुरु हुन्छ। परम्परागत रूपमा दरमा खीर, ढकने, सेल रोटी आदि लगायत  ठाउँ अनुसार विभिन्न मिठा मिठा परिकार खाने गरिन्छ।  

विशेष गरी हिन्दु धर्मावलम्बी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन साँझ र राती दर खाइन्छ । सोही अवसर पारेर मेगा बैंकले पनि आज बैङ्कका महिला कर्मचारीलाई दर खुवाउने तयारी गरेको छ ।

बुधवार बैङ्कका सात सय महिला कर्मचारीहरूलाई दर खुवाउने तयारी गरेको मेगा बैंकको डिसिईओ रविना देशराज श्रेष्ठले बताइन् । उनले भनिन्, ‘तीज भनेको महिला दिदिबहिनीहरुको चाड हो । उहाँहरूको खुसी नै हाम्रो खुसी हो । त्यसैले बुधवार मेगा बैंकमा आबद्ध सात सय महिला कर्मचारीहरूलाई दर खुवाउने बैंकको तयारी रहेको छ ।’   

चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गरेर मनाउन महिला दिदिबहिनीहरुलाई उनले आग्रह गरिन्।  तर तीजमा आफू व्रत नबस्ने खुलासा गर्दै उनले तर्क त्यसो गर्नुको पेस गरिन् ‘तीजमा म व्रत बस्दिन । व्रत बस्नु भन्दा ठुलो श्रद्धा हो । त्यसैले व्रत बसेका दिदिबहिनीहरुको भन्दा कम श्रद्धा मेरो छैन ।’ उनले अगाडी थपिन्, ‘यस वर्ष महामारीबिच हाम्रा चाडपर्वहरू मनाउँदा स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वको महत्त्व नघट्नेगरि मनाउन सबै दिदी बहिनीहरूलाई मेरो आग्रह छ ।’  

मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत पनि महिला नै छिन्। यो महिला सिइओ भएको नेपालको एक मात्र बैंक हो। नेपालमा वाणिज्य बैंकको पहिलो महिला सीइओको रूपमा अनुपमा खुञ्जेलीले मेगा बैंकको नेतृत्व सम्हालिरहेकी छिन्।   

प्रतिक्रिया दिनुहोस