
काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमोसनल ब्यानरमा महावीर पुनको तस्बिर सहित भनाई राखिएको छ-आउनुहोस्, तपाई र हामी जस्ता सृजनशीलहरूको सोचमा ऊर्जा भरिरहेको छ, नेपाल बैंक लिमिटेड। हो, नेपाल कै पहिलो यो बैंकले आफूलाई आधुनिक बनाउँदै लाने क्रममा यस्तै काम गरिरहेको छ।
मुलुकको सबैभन्दा पुरानो बैंक भए पनि आफूलाई समय अनुरूप परिष्कृत गर्दै लैजानेक्रममा नेपाल बैंक लिमिटेडले हाल आएर आफ्ना ग्राहकलाई अन्य वाणिज्य बैकभन्दा अब्बल सेवा दिइरहेको जनाएको छ। यसका लागि बैंकले आफ्ना कर्मचारीहरूमा युवाको हिस्सा उल्लेख्य सङ्ख्यामा वृद्धि समेत गरिसकेको छ। जसले गर्दा नेपाल बैंक लिमिटेड अब युवाहरूको बैंक बन्ने बाटोमा हिँडिरहेको देखिन्छ।
आफ्नो प्रचारात्मक सामग्रीमा उल्लेख गरे झैँ सृजनशील सोचमा ऊर्जा भर्न सक्ने र त्यसलाई ठिक ढङ्गले बुझ्न सक्ने युवाको सङ्ख्या बढाउँदै लगेर हाल २ हजार ३१ जना पुर्याइसकेको छ। यो बैंकमा जम्मा ३ हजार १९३ जना कर्मचारी कार्यरत छन्। युवा कर्मचारीको परिचालन मार्फत बैंकले नयाँ प्रविधिमा आधारित सेवालाई समेत बिस्तार र विकास गरिरहेको छ।
नेपाल बैंकले आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै गत वर्षको ८४ औँ वार्षिकोत्सवका अवसरमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलाई आम ग्राहकको पहुँच र चलाउन सहज हुने तरिकाले निर्माण गरेको बैंकले बताएको छ । त्यस्तै, भिसा डेभिड कार्ड, डिम्याट, मेरो शेयर लगायतमा बैंकले आफ्ना ग्राहकलाई निःशुल्क सेवा दिइरहेको छ ।
यो बैंकले हाल बचत खाताका निक्षेपकर्तालाई ४.५५ प्रतिशतसम्म व्याज दिइरहेको छ। त्यस्तै, मुद्दती खातामा समेत ८.०५ प्रतिशतको उच्च व्याज दिइरहेको बैंकले आफूलाई प्रतिस्पर्धी बैंक बनाउन कुनै कसर बाँकी राखेको छैन।
नेपाल बैङ्कको हाल २ सय १२ वटा शाखा सञ्जालमा रहेका छन्। बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीका अनुसार शाखा बिस्तारको कामलाई समेत निरन्तरता दिइरहेको यो बैंकले चालु आर्थिक वर्षभित्र थप २० शाखा बिस्तार गरेर २ सय ३२ वटा पुर्याउने लक्ष राखेको छ। यो बैङ्कको एटिएम सङ्ख्या हाल १४९ वटा रहेकोमा अब थप ६३ वटा थपिँदै गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस