
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रथम अर्ध–वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा वाणिज्य बैंकहरुको शाखा सुर्खेतमा सबै भन्दा बढी रहेको देखिएको हो ।
बैंकले उक्त प्रतिवेदन सार्वजनकि गर्दै कर्णाली प्रदेशमा वाणिज्य बैंकका १९०, विकास बैंकका १७, वित्त कम्पनीका ४ तथा लघुवित्त वित्तीय संस्थाका १९५ गरी ४०६ शाखा सञ्चालनमा छन् । यसमध्ये सुर्खेतमा सबैभन्दा बढी १३२ तथा मुगुमा सबैभन्दा कम १० शाखा सञ्चालनमा छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप पौष मसान्तसम्ममा ३७.३७ प्रतिशतले वृद्धिभई रु. ४३ अर्ब ४३ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९.१९ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको कुल कर्जा पौष मसान्तसम्ममा २१.३९ प्रतिशतले वृद्धिभई रु. ४२ अर्व ६४ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो कर्जा ३२.४५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिको अन्त्यमा कर्जा निक्षेप अनुपात ९८.२० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १११.१३ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस