aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नयाँ नोट सटहीबारे राष्ट्र बैंक नै अन्यौलमा, वित्तीय संस्थालाई पठाउने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
नयाँ नोट सटहीबारे राष्ट्र बैंक नै अन्यौलमा, वित्तीय संस्थालाई पठाउने तयारी

काठमाडौं । दशैं नजिकिँदै गर्दा धेरैको चासोको विषय हुन्छ राष्ट्र बैंकले कहिलेदेखि नयाँ नोट बाँड्ला ? अब दशैं आउन एक महिना मात्रै बाँकी रहे पनि राष्ट्र बैंकले भने अझैसम्म यसबारे सोची नसकेको बताएको छ ।    

दशैंका लागि नयाँ नोट सटही कार्य सुरु नभएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए । उनले बैंक तथा वित्तीय संस्थालाई समेत अहिलेसम्म नयाँ नोट वितरण नगरिएको स्पष्ट पारे ।   

‘अहिले हामीले नयाँ नोट सटही गर्ने कार्य सुरु गरेका छैनौँ । बैंक तथा वित्तीय संस्थालाई समेत अहिलेसम्म नयाँ नोट पठाइएको छैन ।’ उनले आर्थिक न्युजसँग अगाडी भने, ‘बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउने तयारी चाहिँ गरिरहेका छौँ । राष्ट्र बैंकले नोट उपलब्ध गराएपछि बैंक तथा वित्तीय संस्थाले सम्भवतः नौरथा लागेपछि वितरण गर्छन् ।’       

उनले नयाँ नोट बाँड्नेबारे राष्ट्र बैंक आन्तरिक छलफलमा रहेको समेत बताए । उनले भने, ‘कोरोना महामारी कायमै रहेका कारण नयाँ नोट कसरी बाँड्ने भन्नेबारे आन्तरिक छलफलमा छौँ । छलफल पछि मुद्रा व्यवस्था विभागले कहिलेदेखि बाँड्ने भन्ने मिति तय गर्छ ।’  

अघिल्लो वर्ष नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण नयाँ नोट सटही सुविधा सर्वसाधारणका लागि उपलब्ध गराएको थिएन । सम्भवतः यो साल पनि नोट साट्ने क्रममा हुने भिडभाडलाई मध्यनजर गर्दै गत वर्ष झैँ राष्ट्र बैंकले आफै नोट नबाँड्ने निर्णय गर्न सक्ने संकेत पनि राष्ट्र बैंकले गरेको छ । 

तर, पोखरेलले राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने या नगर्ने भन्ने विषयमा छलफल भने गरिरहेको बताए । साथै, कोरोना महामारी कायमै रहेका कारण डिजिटल कारोबारलाई प्रोत्साहन गर्न समेत सरोकारवाला सबैलाई उनले आग्रह गरे ।  

     

 

प्रतिक्रिया दिनुहोस