काठमाडौं । असोज १ गतेदेखि लागु हुनेगरि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर घोषणा गरे । जसमा धेरैले ब्याजदर बढाएर निक्षेप हात पार्ने रणनीति अपनाएको देखियो । बजारमा लगानीयोग्य पुँजीको अभाव हुन थाले पनि उच्च ब्याजदरमा प्रतिस्पर्धा गर्न वाणिज्य बैंकहरु बाध्य भएका हुन् ।
तर, स्ट्यान्डर्ड चार्टर्ड बैंक भने मुद्दती खातामा सबैभन्दा कम ब्याजदर अफर गर्ने बैंककारुपमा देखा पर्यो । यससँगै के प्रश्न उठेको छ भने के यो बैंकलाई लगानीयोग्य पुँजीको अभाव छैन ? तर, स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई नजिकबाट नियालिरहेकाहरू भन्छन्–कुरो त्यसो होइन ।
हो चाहिँ के त ? यो प्रश्नको उत्तर भने रोचक छ, त्यो हो स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग लगानीको कुनै योजना नै छैन । त्यसैले पैसाको आवश्यक छैन । हुन त पछिल्ला दिनहरूमा ‘बिचरा’ हालतमा पुग्दै गरेको बैंक हो यो । जसको शेयरमा लगानी गरेर अहिले पुर्पुरोमा हात लगाउनेहरू धेरै नै छन् ।
हुन पनि तथ्याङ्कले के देखाउँछ भने यो बैंकले संस्थागत मुद्दती निक्षेपमा पनि अति नै कम ब्याजदर घोषणा गरेको छ । जसले तीन महिनाका लागि मुद्दती निक्षेप गर्ने संस्थाहरूलाई ३ प्रतिशत मात्र ब्याज दिने जनाएको छ ।
६ महिनाका संस्थागत ग्राहकलाई ५ प्रतिशत अफर छ भने एक वर्षसम्म राख्नेलाई ७ प्रतिशतको मात्रै अफर गरेको छ । जबकि सनराइज बैंकले जुनसुकै अवधिका लागि निक्षेप गर्ने सबै संस्थागत निक्षेपकर्तालाई १०.०७ प्रतिशतको उच्च ब्याज दिने जनाएको छ ।
उता, व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई ७.५ प्रतिशतको ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गरिरहँदा सनराइज बैंकले भने संस्थागतलाई दिएकै जसरी बराबरी १०.०७ प्रतिशत ब्याज दिने जनाएको छ ।
अन्य बैंकहरुको हकमा भने प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम नौ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले नौ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन् ।
त्यसैगरी एनएमबी बैंकले नौ दशमलव ५२, सानिमा बैंकले नौ दशमलव ५१, ग्लोबल आईएमई बैंकले नौ दशमलव ५० प्रतिशत नबिलले साधारणमा नौ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले नौ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले नौ दशमलव २५, हिमालयन बैंकले नौ प्रतिशत, सिद्धार्थ बैंकले नौ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले नौ दशमलव ०२ प्रतिशत र लक्ष्मी बैंकले नौ प्रतिशत ब्याज दिने बताएका छन् ।
यसैगरि, बैंक अफ काठमाडौंले आठ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले आठ दशमलव ७६ प्रतिशत, माछापुच्छ्रे बैंकले आठ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले आठ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले आठ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले आठ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले आठ दशमलव ५५, कुमारी बैंकले आठ दशमलव ५१ प्रतिशत कायम गरिएको जनाएका छन् ।
यस्तै, कृषि विकास बैंकले आठ दशमलव ५ प्रतिशत, प्रभु बैंकले आठ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले आठ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले आठ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले आठ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सात दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।
बैंकहरूले साधारण निक्षेपमा न्यूनतम चार दशमलव २६ देखि अधिकतम छ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस