
काठमाडौं । अनेकौँ काण्डहरूका कारण सधैँ चर्चामा रहने गोर्खाज फाइनान्स फेरी यस्तै अर्को काण्डवालाको कारण चर्चामा आएको छ। ती काण्डवाला हुन्, प्रेम बहादुर खापुङ जो अहिले गोर्खाज फाइनान्सको अध्यक्ष बन्न अनेकौँ दाउपेचका साथ लागि परेका छन्। अनि उनी मुछिएको चर्चित काण्ड हो, ललिता निवास काण्ड।
त्यतिमात्र होइन विगतमा गोर्खा डेभलपमेन्ट बैंकलाई सिद्ध्याएर फाइनान्समा झार्ने दुष्कर्मको भारी बोकिरहेका उनै प्रेम बहादुर खापुङलाई अहिले पनि पुराना मतियारहरू धर्मकुमार राई र डिबी बञ्जनको साथ रहेको गोर्खाज फाइनान्ससम्बद्द स्रोतले बताएको छ। यसरी अनेकौँ घोटालामा मुछिएका र काण्डै-काण्डको पोको भन्न मिल्ने अवस्थामा रहेका व्यक्तिहरू फाइनान्सको नेतृत्वको इच्छा सहित सलबलाउन थालेपछि गोर्खाजका शुभचिन्तकहरूमा चिन्ता थपिएको हो।
स्रोतका अनुसार आगामी १८ गते हुन लागेको साधारण सभा तथा निर्वाचनमा अध्यक्ष तथा सञ्चालकका लागि खापुङले योजना बनाइरहेका छन् । उनीहरूको हातमा फाइनान्सको नेतृत्व पुग्यो भने विकास बैंकबाट फाइनान्समा झरे झैँ यो वित्तीय संस्था पुरै बन्द नै पो गराउने हुन् कि भन्ने आशंकाले पनि यसरी चिन्ता थपेको हो।
सञ्चालकहरूको बदमासी र खराब कर्जाको कारण समस्याग्रस्त भएपछि बि.स. २०६९ पौष १९ गते राष्ट्र बैङ्कले गोर्खा डेभलपमेन्ट बैंकलाई नियन्त्रणमा लिएको थियो । बैंक सुधारका लागि नेपाल राष्ट्र बैंकले व्यवस्थापन समूह परिचालन गरेको थियो । तत्कालीन व्यवस्थापन समूहका प्रमुख पात्र डिबी बञ्जनले १ अर्ब ६० करोड रुपैयाँ विभिन्न व्यक्तिलाई आफू खुसी ऋण दिएर बैंकलाई संकटग्रस्थ बनाएका थिए । उक्त बेलामा नै दिएको ऋणमध्ये कृषि प्रिमुराको मुद्दा भने हाल पनि अदालतमा विचाराधीन नै रहेको छ ।
गोर्खाज फाइनान्सको ३५७औँ सञ्चालक समितिको बैठकले खापुङलाई २०७४ माघमा सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो । पूर्व सरकारी कर्मचारी समेत रहेका खापुङ फाइनान्समा अध्यक्ष भएकै बेलामा बालुवाटार ललिता निवास काण्डका योजनाकार रूपमा देखिएपछि नेपाल राष्ट्र बैंकले उनलाई अयोग्य ठहर गर्दै अध्यक्षबाट निष्कासन गरेको थियो।
ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराइएको बेला डिल्लीबजार मालपोत कार्यालय अधिकृत रहेका उनलाई सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा पार्ने मुख्य योजनाकार समेत रहेको आरोप लागेको छ । उनै खापुङलाई गोर्खाज फाइनान्सको अध्यक्ष पदमा निर्वाचित गराउन भन्दै गोर्खा डेभलपमेन्ट बैंक काण्डका बञ्जन र राई नै लागिपरेको फाइनान्सका अन्य सञ्चालकहरू बताउँछन् ।
खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गरेको थियो । ललिता निवास जग्गा प्रकरणको मुद्दा अझै पनि किनारा लागि सकेको छैन । तर, उक्त मुद्दालाई नै आधार बनाएर नेपाल राष्ट्र बैंकले फाइनान्सको अध्यक्ष पदमा बस्न अयोग्य भनेका व्यक्ति पुन कसरी योग्य हुन्छन् होला यो भने राष्ट्र बैंकले खोजि गर्ने विषय हो ।
३५ हजार कित्ता गोर्खाज फाइनान्समा शेयर रहेका खापुङसँग तत्कालीन गोर्खा डेभलपमेन्ट बैंकका अध्यक्ष डिबी बञ्जनका तर्फबाट उनका छोरा दृष्टान्त बञ्जन समेत फाइनान्सको नेतृत्व हत्याउन लागि परेको फाइनान्स स्रोतले बताएको छ । उनी सञ्चालकको रूपमा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बताएको छ।
खापुङ अध्यक्ष रहेका बेलामा उनले फाइनान्समा प्रोफेसनल लोनका नाममा आफन्तलाई करिब १५ करोड रुपैयाँ पैसा समेत बाँडेको फाइनान्स स्रोत बताउँछ । उनले त्यस बेलाका प्रमुख कार्यकारी अधिकृतलाई दबाब दिएर प्रवाह गरेको ऋण हालसम्म पनि फाइनान्सले उठाउन सकेको छैन ।
गोर्खा डेभलपमेन्ट बैंकलाई फाइनान्समा डिमोसन गराउने खेलाडीले फाइनान्सको निर्वाचन आफ्नो पक्षमा नआउने भएपछि दुई पटक साधारण सभा समेत रोक्नका लागि मुद्दा समेत दायर गरेका थिए । फाइनान्सले गत बैशाख २१ गते साधारण सभा गर्ने मिति निर्धारण गरेको थियो तर, उक्त मितिमा खापुङ समूहले आफ्नो पक्षमा निर्वाचन परिणाम नआउने देखेपछि साधारण सभाको सूचना आफूले थाहा नपाएको भन्दै साधारण सभा रोक्न मुद्दा दायर गरेर साधारण सभा स्थगित गराएका थिए ।
फाइनान्सले केही प्रतिफल दिन लागेका बेलामा वर्षौदेखि मारमा परेका लगानीकर्ताको आशमा तुसारापात हुन थालेको दुखेसो सुनिन थालेको छ । पुरानो कुख्यात समूह हाबी भएर गोर्खा डेभलपमेन्ट बैंकलाई डिमोसन गराएर फाइनान्स बनाए झैँ यिनीहरू नै आएमा गोर्खाजको नाम नै सिद्धिने डर पैदा भएको एक लगानीकर्ताले चिन्ता व्यक्त गरे ।
लाखौँ निक्षेपकर्ताको निक्षेप रहेको र हजारौँ सर्वसाधारण जनता लगानीकर्ता रहेको फाइनान्सलाई पुन सङ्कटमा फस्न नदिनका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र फाइनान्सका साधारण लगानीकर्ता सचेत हुन पर्ने बेला भएको छ ।
प्रतिक्रिया दिनुहोस