aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

घरजग्गाको लगानी बैंकलाई बन्यो ‘गलगाँड’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
घरजग्गाको लगानी बैंकलाई बन्यो ‘गलगाँड’

काठमाडौं । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये धेरै जसोले घरजग्गामा गरेको लगानी उठाउन नसक्दा उनीहरुका लागि त्यो ऋण ‘गलगाँड’ जस्तै भएको छ । बैंकहरुले त्यस्तो ऋण न खराब कर्जामा न त असल कर्जामा नै राख्न सकेका छन् । ब्याज मात्र भुक्तानी गरे मात्र पनि ऋण नवीकरण गरिदिने पक्षमा बैंकहरु पुगेका छन् । तर, केही ऋणीहरु त्यो पनि गर्न तयार छैनन् ।

नेपाल राष्ट्र बैंकले भने घरजग्गामा गएको ऋण असुल्न कडा निर्देशन दिएको छ । ऋण असुल उपर नगरे कारबाही गर्नेसम्मको धम्की दिँदै आएको छ । खासगरी पछिल्लो समयमा सञ्चालनमा आएका बैंकहरुले घरजग्गामा अन्धाधुन्दा लगानी गर्दा यस्तो समस्या आएको हो । आर्थिक वर्षको अन्त्यमा त्यसरी लगानी घरजग्गामा लगानी गरेको ऋणको साँवा ब्याज उठाउन नसक्ने बैंकले नाफा घट्ने सम्भावना देखिएको छ । 

नेपाल राष्ट्र बैंकले घरजग्गामा जाने कर्जालाई निरत्साहित गरे पनि बैंकहरुले भित्रभित्रै अत्याधिक मात्रमा घरजग्गामा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिना (चैतसम्म) मा ३ खर्ब ७२ अर्ब रुपैयाँ घरजग्गामा लगानी भएको छ । उक्त अवधिसम्म आवासीय कर्जा २ खर्ब २८ अर्ब र एक करोडमाथिको रियल स्टेट कर्जा १ खर्ब ४४ अर्ब लगानी गरिसकेका छन् ।

चालू आर्थिक वर्षको अन्त्यसम्म त्यस्तो कर्जा अझै बढेको छ । वर्षको अन्त्यमा बैंकहरुले कर्जा विस्तारलाई रोकेर साँवा ब्याज असुलीलाई तीव्रता दिएका छन् । किसानलाई साउनमा रोपेको धान कात्तिक मंसिरमा भित्र्याउने चटारोमा भएजस्तै यतिबेला बैंक तथा वित्तीय संस्थका कर्मचारी घरजग्गामा गएको ऋणको साँवा ब्याज उठाउने चटारोमा छन् । आर्थिक वर्षको अन्त्य भएकाले पनि बैंकहरुले अहिले लगानीभन्दा असुलीलाई प्राथमिकता दिएका हुन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) नाघेका वाणिज्य बैंकलाई कारबाही गर्ने चेतावनी दिएपछि कारबाहीबाट बच्न ती बैंकहरुले घरजग्गामा गएको कर्जा उठाउन लागि परेका हुन् । केही बैंकहरुले कर्जा–निक्षेप अनुपातको ख्याल नै नगरी आक्रमक रुपमा कर्जा लगानी गरेको भन्दै केन्द्रीय बैंकले कारबाही गर्ने चेतावनी दिएपछि ती बैंकहरुले आर्थिक वर्षको अन्त्य हुनु अघि नै कर्जा लगानी कम र असुलीलाई बढी जोड दिँदै आएका छन् ।

बैंकहरुले घरजग्गामा बढी लगानी गर्न थालेपछि राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गर्ने गरी मौद्रिक नीति ल्याएको थियो । उसले शेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति ल्याएको थियो । तर, त्यस्तो नीतिलाई प्रवाह नगरी बैंकहरुले घरजग्गामा लगानी बढाएका छन् ।

नयाँ मौद्रिक नीतिमार्फत सरकारले घरजग्गा कारोबारमा जाने कर्जामा कडाइ गर्ने संकेत देखिएको छ । राष्ट्र बैंकले एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवास कर्जालाई यथावत राखे पनि व्यापारिक प्रयोजनको रियलस्टेटमा भने धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने व्यवस्था गर्ने बताइएको छ । 

यसअघि आवासीय रियलस्टेट कर्जामा धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाइने नीति थियो । बैंक तथा वित्तीय संस्थाले आवासीय रियलस्टेट कर्जा अधिकतम एक करोड रुपैयाँसम्म दिन पाउँछन् । रियलस्टेटमा मात्र कुल १५ प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाइने नियम छ । तर, पनि बैंकहरुले आन्तरिक रुपमा मिलाएर घरजग्गामा लगानी बढाइरहेका छन् । पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह ऋण बढी हुन थालेको संकेत दिएको छ । तर, पनि बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन छाडेका छैनन् ।


२८ वाणिज्य बैंकले निक्षेप करिब २८ खर्ब संकलन गरेर करिब २५ अर्ब ऋण लगानी गरेका छन् । राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थालाई बेवास्ता गर्दै केही बैंकहरुले आक्रमक रुपमा कर्जा प्रवाह गर्न थालेपछि सीसीडी रेसियोभित्र रहन राष्ट्र बैंकले चेतावनी दिँदै आएको छ ।

केन्द्रीय बैंकले प्रत्येक त्रैमासमा सीसीडी रेसियो कायम गर्न वाणिज्य बैंकलाई निर्देशन दिँदै आएको छ । तर, आर्थिक वर्षको अन्त्यमा भने उक्त प्रवधान कडा रुपमा पालना नगर्ने वाणिज्य बैंकहरुलाई कारबाही हुने भएको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केही वाणिज्य बैंकको सीसीडी रेसियो नाघेको भन्दै कारबाही चेतावनी दिएका थिए ।

केही समय अघि केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले एक दर्जन बैंकको ऋण लगानीसम्बन्धमा अनुसन्धान गरेको थियो । तीमध्ये केहीले  जथाभावी ऋण लगानी गरेको निष्कर्ष निकालेको थियो ।

‘एक दर्जन वाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्यौं, तीमध्ये केहीले कर्जा लगानीमा जथाभावी गरेको देखियो, अहिले माफी मागेका छन्’ राष्ट्र बैंकका एक अधिकारीले भने–‘ तिनीहरुले चालू आवको अन्त्यमा पनि सीसीडी रेसियो कायम नराखे कारबाही हुन्छ ।’

कारबाहीबाट बच्न पनि बैंकले सीसीडी रेसियो घटाउने तयारीमा लागेका छन् । सीसीडी रेसियो कायम नहुँदा जोखिम बढ्छ । बैंकहरु डुब्छन्, जनताको पैसा पनि डुब्छ । त्यसकारण पनि केन्द्रीय बैंक उक्त व्यवस्था कडाइका साथ लागू गर्ने भएको हो ।

राष्ट्र बैंकले सीसीडी रेसियो कायम नगर्ने बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन दिएको छ । ‘बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न भनेका छौं, कर्जा लगानी घटाउन निर्देशन दिएका छौं,’ केन्द्रीय बैंकका ती अधिकारीले भने । 

प्रतिक्रिया दिनुहोस