
काठमाडौं । कामना सेवा विकास बैंकले कात्तिक २३ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज २५ गतेको सञ्चालक समितिको बैठकले पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १९ दशमलव ४७ प्रतिशत लाभांश समेत पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६५ करोड १९ लाख ६३ हजारको आधारमा १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ । साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीमा जाने प्रस्तावलाई समेत कम्पनीले अघि सारेको छ ।
मर्जर तथा प्राप्ती प्रयोजनमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस