
काठमाडौं । ‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।
साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
यस सम्झौता अनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
उक्त सम्झौताको बारेमा बोल्दै साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेलले भने, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।”
त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भने, “हामी साइन रेसुंगा डेभलपमेन्ट बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब साइन रेसुंगा बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”
साइन रेसुंगा डेभलपमेन्ट बैंक एक क्षेत्रीय स्तरको बैंक हो । बैंकले हाल पश्चिमान्चल क्षेत्रका विभिन्न स्थानमा संचालित ३९ शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस