काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हाल ९ वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका छन् । सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्याण्डर्ड चार्टड, हिमालयन बैंक , नेपाल बङ्गलादेश बैंक र ग्लोबल आइएमई बैंकले हालसम्म लाभांश सार्वजनिक गरेका हुन । उल्लेखित बैंकहरुको प्रस्तावित लाभांशलाई हेर्दा हिमालयन बैंकले सर्वाधिक २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष बैंकले विगत तीन वर्षपछिकै उच्च लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १२ प्रतिशत नगद लाभांश गरी कुल २२ प्रतिशत लाभांश वितरण गरेको थियो । विगत पाँच वर्षको लाभांश इतिहासलाई हेर्दा बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सबैभन्दा कम कुल १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त वर्षको मुनाफाबाट बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट भने बैंकले यस वर्षको भन्दा पनि बढी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस वर्षको मुनाफाबाट बैंकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार बैंकको चुक्तापूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको छ । उक्त अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस