
काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार प्रकासित गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा शून्य दशमलव २३ प्रतिशतले कम भएको छ । गत वर्षको पहिलो त्रैमाससम्म रू. २ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ९६ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफामा पनि सोही अनुपातको कमि आई खुद नाफा घट्न पुगेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ४९ लाख ४० हजार छुट्याएको कम्पनीले यस वर्ष २०८ दशमलव ९७ प्रतिशत बढी रू. १ करोड ५२ लाखभन्दा बढी यो शिर्षकमा रकम छुट्याएको हो ।
१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९६ करोड ४४ लाख ९२ हजार पु¥याएको कम्पनीले जगेडा कोष रकम २२ दशमलव ६१ प्रतिशत बृद्धि गरी रू. २० करोड ३६ लाखभन्दा बढी कायम गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा साढे ६२ प्रतिशत बढी रू. ९ अर्ब ६६ करोड ७२ लाख कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा ५४ दशमलव ८२ प्रतिशत बढी रू. ९ अर्ब ३३ करोड ८१ लाख कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा शून्य रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव ३० र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ११ रहेको छ ।
प्रतिक्रिया दिनुहोस