
कात्तिक ९, काठमाडौं । मंगलवार कामना सेवा विकास बैंकको ४४ करोड ७४ लाख ५७ हजार रुपैया बराबरको ६ लाख १७ हजार ७६३ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ९ करोड ८८ लाख ६२ हजार रुपैयाँ बराबरको १ लाख ४४ हजार ५२५ कित्ता शेयर कारोबार भएको बैंकको मंगलवार भने कारोबार रकममा उल्लेख्य बृद्धि भएको हो । यो दिन बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि कारोबार रकम बढेको देखिन्छ ।
बैंकले यस वर्ष गत वर्षको मुनाफाबाट १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारीतका लागि बैंकले आगामी कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा हुनेछ । उक्त सभा प्रयोजनका लागि बैंकले कात्तिक १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गते सम्म शेयर कायम गर्नेहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश वितरण गर्न लागेको हो । गत वर्ष ४ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले विगतका वर्षहरुमा अघिकतम १२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । मंगलवार बैंकको हालसम्मकै उच्च लाभांशप्रति लगानीकर्ताहरु आकर्षित भई शेयर खरिद गरेको देखिन्छ । मंगलवार कारोबार रकमसँगै बैंकको शेयरमूल्य पनि प्रतिकित्ता १० ले बढेर अन्तिम मूल्य ७२० रुपैया कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस