aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेप्सेले तोक्यो कामना सेवा विकास बैंकको बोनस शेयरपछिको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० कार्तिक २०७८
नेप्सेले तोक्यो कामना सेवा विकास बैंकको बोनस शेयरपछिको मूल्य

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कामना सेवा विकास बैंकको प्रस्तावित १८ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य तोकिदिएको छ । नेप्सेले कम्पनीको मंगलवार कायम अन्तिम शेयर मूल्य ७१९ रुपैयाँको आधारमा बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी ६०७ रुपैयाँ तोकेको हो ।

बैंकले यस वर्ष गत वर्षको मुनाफाबाट १८ दशमलव ५० प्रतिशत बोनस शेयरसँगै शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारीतका लागि बैंकले आगामी कात्तिक २३ गते साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले कात्तिक १० गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो ।

बुक क्लोजको आधारमा कात्तिक ९ गते सम्म शेयर कायम गर्नेहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश वितरण गर्न लागेको हो । गत वर्ष ४ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले विगतका वर्षहरुमा अघिकतम १२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस