काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ कसूरमा संलग्न रहेको अभियोगमा सिन्धु विकास बैंकका प्रमुख पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका भइ सिन्धु विकास बैंक लि। दोलालघाट शाखामा कार्यरत ३१ बर्षीय सुमन खरेल रहेको प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार बैंकिङ कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एन सि सि बैंक सिन्धुपाल्चोक, बाह्रविसे शाखामा रहेको सिन्धु विकास बैंकको खातामा नियमित रुपमा जम्मा गर्ने गरिएको थियो । तर, सिन्धुका शाखा प्रमुख समेत रहेका खरेलले एक करोड उनासी लाख नब्बे हजार आठ सय पचपन्न रुपैयाँ एनसिसि बैंकको खातामा जम्मा नगरि आफ्नो खातामा जम्मा गरेको सीआईबीले जनाएको छ ।
बैंकको रकम आफुले निकालेर बैंकिङ सम्पति हिनामिना गरेको भन्दै सीआईबीले खरेललाई पक्राउ गरेको जनाएको छ । सीआईबीका अनुसार पक्राउ परेका खरेललाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भइरहेको छ।
प्रतिक्रिया दिनुहोस