aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

ग्लोबल आइएमई र बिओकेको मर्जर यात्रामा देखा पर्‍यो सानो तगारो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
ग्लोबल आइएमई र बिओकेको मर्जर यात्रामा देखा पर्‍यो सानो तगारो

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबिचको बिग मर्जरमा सानो तगारो देखा परेको छ । त्यो तगारो हो, बैंक अफ काठमाण्डूमा रहेको सक्रिय कर्मचारी युनियन ।   

समाचार स्रोतका अनुसार ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डूमा रहेको निकै बलियो युनियनलाई खारेज गर्नु पर्ने सर्त अगाडी सारेपछि अहिले त्यहाँ निकै ठुलो हल्लीखल्ली मच्चिएको छ । बैंक अफ काठमाण्डूको कर्मचारी युनियन त्यस्तो कर्मचारी युनियन हो जुन अन्य बैंकहरुमा रहेका कर्मचारी युनियनहरू भन्दा धेरै नै बलियो छ ।   

बैंक अफ काठमाडौंका धेरैजसो नीतिगत निर्णयहरूमा प्रत्यक्ष प्रभाव पार्दै आएको यो युनियनले मर्ज पछि पनि त्यस्तै सक्रियता देखाइरह्यो भने आफूलाई अप्ठ्यारो पार्ने निष्कर्षमा ग्लोबल आइएमई पुगेपछि बैंक अफ काठमाण्डूको युनियन खारेजी मर्जरको पूर्व सर्त बनेको बताइन्छ । 

अहिले बैंक अफ काठमाण्डूका कर्मचारीवृतमा मर्जर पछिको आफ्नो अवस्था कस्तो हुन्छ भन्ने कुराको अन्यौलता छाएको छ । सो अन्यौलताकाबिच त्यहाँको कर्मचारी युनियन केही सक्रिय बन्दा ग्लोबल आईएमई पक्ष सशङ्कित बनेको हो । 

उता बैंक अफ काठमाण्डूको नेतृत्व भने कर्मचारी युनियनलाई बेवास्ता गर्दै अगाडी बढ्ने अवस्था छैन । विगतदेखिको कर्मचारी पक्षले राख्दै आएको दबदबालाई तुरुन्तै नकारेर ग्लोबल आइएमईसँग सम्झौता गर्दै निष्कर्षमा पुग्ने बैंक अफ काठमाण्डूका सञ्चालकहरूको क्षमताको कमिका कारण तुरुन्तै मर्जर प्रक्रियाले पूर्णता नपाउने पो हो की भन्ने आशङ्कामा ग्लोबल आइएमई पक्ष पनि पुगेको बताइन्छ ।  

यसअघि ग्लोबल आइएमईमा गाभिएको जनता बैंकमा पनि कर्मचारी युनियन थियो । तर, बैंक अफ काठमाण्डूको जस्तो बलियो युनियन नरहेको कारण त्यो युनियन ग्लोबल आइएमईमा समाहित भइसक्दा निकै कमजोर बन्दै अन्ततः अस्तित्वहीन नै बनेको थियो । तर, बैंक अफ काठमाण्डूको युनियन मर्जर पछि आफै बिलाएर जाने सम्भावनालाई ग्लोबल आइएमईले समेत नकार्न नसकेको देखिएको छ । उता, आफूहरूको भविष्यबारे धेरै कुरा पहिले नै निश्चित गरेर मात्र मर्जरको प्रक्रियालाई अगाडी बढ्न दिने सोचमा बैंक अफ काठमाण्डूको युनियन रहेको देखिन्छ ।   

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच मर्जर पक्का, पुससम्ममा मर्ज प्रक्रिया सक्ने तयारी

प्रतिक्रिया दिनुहोस