काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण कात्तिक १३ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको भन्दा ५६ दशमलव शून्य ८ प्रतिशत बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ८ लाख ३१ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १२ लाख ९७ हजार यो नाफा गरेको हो ।
यो वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि करिब २३ प्रतिशत बढी रू. ८ करोड ५ लाख ७४ हजार भएको छ । कुल सञ्चालन आम्दानी गत वर्षभन्दा करिब ३६ प्रतिशत बढेको कम्पनीको सञ्चालन नाफा ५६ दशमलव ११ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ७ करोड ५३ लाखभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १० करोड २२ लाखभन्दा बढी यो आम्दानी गरेको हो । त्यस्तै गत वर्ष रू. ११ लाख ८७ हजार सञ्चालन नाफा गरेको कम्पनीको यस वर्ष यो नाफा रू. १८ लाख ५३ हजार रहेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ८ करोड ३८ लाख ८५ हजार रहेको छ । ओपनिङ्ग ब्यालेन्स रू. ९ करोड ३२ लाख ७१ हजार रहेका कारण कम्पनीको वितरणयोग्य मुनाफा भने बढी देखिन पुगेको हो । यस वर्ष कम्पनीले रेगुलेटरी रिजर्भमा रू. १ करोड ४ लाख ११ हजार छुट्याएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ९६ करोड ३१ लाख ४५ हजार रहेको छ । जगेडा कोष रकम रू. ३० करोड ९४ लाखभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निंग रू. ८ करोड ३८ लाखभन्दा बढी रहेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन १ दशमलव २४ प्रतिशत बृद्धि भई रू. ९ अर्ब ९ करोडभन्दा बढी भएको छ भने कर्जा प्रवाह १६ दशमलव ४७ प्रतिशत बृद्धि भई रू. ६ अर्ब ८१ करोडभन्दा बढी भएको छ । कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ८७ प्रतिशतदेखि बढेर २ दशमलव शून्य ७ पुगेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ५४ र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ८४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस