aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

वित्तीय संस्थाको कुल निक्षेप ६८.१ र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मतीबाट मात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
वित्तीय संस्थाको कुल निक्षेप ६८.१ र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मतीबाट मात्रै

काठमाडौं । नेपाल राष्ट्र बैंकले संघीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान गर्ने  उद्देश्यले"Financial Sector's Resource Mobilization Under Federal Structure of Nepal" विषयक अध्ययन सम्पन्न गरिएको छ ।  

प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र  कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको राष्ट्र बैंकले जनाएको छ । यसबाहेक गरिब, विपन्न, वेरोजगार र महिलालगायतले  सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा  सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।

 वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा  सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबंैकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि योअध्ययन मूलतः वाणिज्य बंैक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा  केन्द्रित रहेको छ ।  

राष्ट्र बैंकबाट इजाजतपत्र  प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहँुच तथा साधन परिचालन बाग्मती प्रदेशमा  अधिकेन्द्रित रहेको देखाएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । आर्थिक वर्ष  २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत)  बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ । बैंक तथा वित्तीय  संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती  प्रदेशमा रहेको छ । 

कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवैन्यून रहेको देखिएको छ ।  अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको  वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ । 

पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा  विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका  प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त  क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हँुदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका  प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस