aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नबिल बैंकको यस वर्षको लाभांश चार वर्षपछिकै उच्च, सूची सहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ कार्तिक २०७८
नबिल बैंकको यस वर्षको लाभांश चार वर्षपछिकै उच्च, सूची सहित

काठमाडौं । हालसम्म सार्वजनिक बाणिज्य बैंकहरुमध्य नबिल बैंकले सर्वाधिक लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

वाणिज्य बैंकहरुमध्य वित्तीय सूचकहरुमा समेत अब्बल मानिएको यस बैंकले गत वर्षपनि वाणिज्य बैंकहरुमध्य सर्वाधिक ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपालको शेयर बजारमा कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको यस बैंकको यो वर्षको लाभांश विगत चार आर्थिक वर्षपछिकै उच्च हो । 

आर्थिक वर्ष ०७३/७४ मा ३० प्रतिशत बोनस शेयर र कर समेत १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश वितरण गरेको यस बैंकले त्यस पछिका दुई आर्थिक वर्ष एउटै अनुपातमा अर्थात १२ प्रतिशत बोनस शेयर र कर समेत २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । 

गत वर्ष भने बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । दोस्रो बजारमा बैंकको शेयरमूल्य १ हजार ६५३ रुपैयाँ रहेको छ । लाभांश सार्वजनिक भएको दिन कात्तिक १७ गते बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो भने शेयरमूल्य पनि प्रतिकित्ता रू. ४५ ले बढेको हो ।

प्रतिक्रिया दिनुहोस