aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बैंकहरुले घाँटी नहेरी हाड निल्दा समस्या आयो: गभर्नर अधिकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
बैंकहरुले घाँटी नहेरी हाड निल्दा समस्या आयो: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले घाँटी हेरेर हाड निल्दो नेपालको बैंकिङ क्षेत्र नै ठुलो तनावको अवस्थामा पुगेको बताएका छन्। बैंकहरुले लगानी गर्ने क्षमता नभए पनि लगानी गरेका कारण अहिलेको भयावह अवस्था आएको टिप्पणी गर्दै उनले यस्तो भनाई व्यक्त गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल बैंकर्स संघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । कमभन्दा कम मध्यस्थता शुल्कका कारण सेवाग्राहीले लाभ लिइरहेको उनले बताए। बैंक तथा वित्तीय संस्थाको अल्पकालीन नाफा खोज्ने काम गर्नु नहुने समेत उनले बताए। कानुनका छिद्र खोज्ने काममा नलाग्न समेत उनले बैंकर्सहरुलाई खबरदारी गरे। 

मौद्रिक क्षेत्रमा समेत केही मिलाउनु पर्ने सूचकांकले देखाएको बताउँदै उनले आसन्न मौद्रिक नीतिको समीक्षा मार्फत केही कडा नीतिहरू सार्वजनिक गर्ने समेत सङ्केत गरे। 

त्यस्तै, नेपाल बैंकर्स एसोसिएसनका निवर्तमान अध्यक्ष भुवन दाहालले यसबिच ठुलो समस्याका बाबजुद व्यवसायीहरूले ब्याजदरमा रहेको स्प्रेडको कारण लाभ लिन सकेको बताए। उनले बैंकरहरुलाई कानुनले तर्साएकोले सो वातावरण अन्त्य हुनुपर्ने बताए। उनले भने, ‘बैंकिङ कसुर सम्बन्धी कानुनका कारण बैंकरहरु त्रसित छन्। मौद्रिक नीति मार्फत त्यसमा संशोधन हुने कुरामा बैंकरहरु आशावादी रहेका छन्।’  

नेपाल बैंकर्स एसोसिएसनले सम्मान गरेका सम्मानित व्यक्तित्व रूपमा आफ्नो मन्तव्य राख्दै डा. शंकर शर्माले नेपालको आर्थिक क्षेत्रको सुधार गर्ने क्रममा आफूलाई राष्ट्र प्रमुख, प्रधानमन्त्रीदेखी ठुला राजनीतिक दलका नेताहरूले समयमा नै ऋण नतिर्ने खराब नियत भएका व्यवसायीलाई कारबाही नगर्न दबाब दिएको खुलासा गरे ।  

उनले राष्ट्र बैंकलाई सरकारले दबाब दिने, नियन्त्रणमा राख्न खोज्ने, निर्देशन दिने काम सही हो वा गलत हो भन्ने विषयमा बहसको खाँचो रहेको बताए।बैंकिङ क्षेत्रको जोखिमलाई निरन्तर रूपमा हेर्नु पर्ने कुरामा उनको जोड थियो। 

त्यस्तै मंगलबार नै नेपाल बैंकर्स साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

अन्य सदस्यमा लक्ष्मी बैंकका अजय बिक्रम शाह, सनराइज बैंकका सुमन शर्मा, नेपाल एसबिआई बैंकका दिपक कुमार दे, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला ,मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्ण बहादुर अधिकारी र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस