aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

तीन महिनामा पौने सात अर्बको पुनरकर्जा प्रवाह, बागमति प्रदेशको हिस्सा ५० प्रतिशत भन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
तीन महिनामा पौने सात अर्बको पुनरकर्जा प्रवाह, बागमति प्रदेशको हिस्सा ५० प्रतिशत भन्दा बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि बनाएपछि चालू आर्थिक वर्षको तीन महिनामा विभिन्न ५५ वटा उद्योग कम्पनी र संघ संस्थाले पुनरकर्जा लिएको जनाएको छ । जसमा विशेष पुनकर्जा शिर्षकमा एक अर्ब ८६ करोड १३ लाख रुपैयाँ बराबरको ११ वटा ऋणीहरुले ८ वटा वित्तीय संस्थाबाट पुनरकर्जा लिएका छन् । त्यस्तै, साधारण पुनरकर्जा शिर्षकमा ४४ वटा संघसंस्थाले १९ वटा वित्तीय संस्थाहरुबाट ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ बराबरको पुनरकर्जा लिएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  

चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म सबैभन्दा बढी बागमती प्रदेशमा पुनरकर्जा प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बागमति प्रदेशमा ३ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबरको पुनरकर्जा प्रवाह भएको छ । जुन कूल पुनरकर्जाको ५०.७८ प्रतिशत हो ।  

त्यस्तै गण्डकी प्रदेशमा रहेका विभिन्न कम्पनी तथा संस्थाहरुले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा एक अर्ब ८९ करोड ३६ लाख रुपैयाँको पुनरकर्जा लिएका छन् । जुन कूल कर्जाको २७.८४ प्रतिशत हो । सबैभन्दा कम प्रदेश २ मा पुनरकर्जा प्रवाह भएको छ । यस प्रदेशमा असोज मसान्तसम्म २० करोड ४४ लाख रुपैयाँ बराबरको पुनरकर्जा प्रवाह भएको छ । जुन कूल ऋणको ३.०१ प्रतिशत मात्र हो । 

प्रदेश १ मा रहेका उद्योग, कम्पनी तथा संघ संस्थाले चालू आर्थिक वर्षको असोज मसान्तसम्म ३६ करोड ४२ लाख रुपैयाँ बराबरको मात्र पुरनकर्जा लिएका छन् । जुन कूल कर्जाको ५.३५ प्रतिशत हो । त्यस्तै, लुम्बिनी प्रदेशमा रहेका विभिन्न उद्योग, कम्पनी र संघ संस्थाले ८८ करोड ५५ लाख रुपैयाँ बराबरको पुनरकर्जा लिएका छन् । जुन कूल कर्जाको १३.०२ प्रतिशत रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार सात प्रदेश मध्ये सुदूरपश्चिम र कणाीली प्रदेशमा भने कुनै पनि पुनरकर्जा नभएको देखिएको छ । अन्य पाँच प्रदेशमा जम्मा ६ अर्ब ८० करोड १३ लाख रुपैयाँ बराबरको पुनरकर्ना प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

कुन क्षेत्रले कति लिए ? 
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रले पुनरकर्जाको रकम सबैभन्दा बढी लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पाँच प्रदेशमा रहेको पर्यटनसँग सम्बन्धीत क्षेत्रमा मात्रै कूल कर्जाको ५०.९३ प्रतिशत पुनरकर्जा प्रवाह भएको छ । यस क्षेत्रमा चालू आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ बराबरको पुनरकर्जा प्रवाह भएको देखिन्छ ।  

त्यस्तै, पाँच प्रदेशमा रहेको जलविद्युत कम्पनीहरुले पनि कूल कर्जाको २३.६४ प्रतिशत पुनरकर्जाको रकम सदुपयोग गरेको देखिन्छ । यस क्षेत्रले चालू आवको असोज मसान्तसम्म एक अर्ब ६० करोड ७६ लाख बराबरको पुनरकर्जा लिएका छन् । सबैभन्दा कम पुनरकर्जा लिनेमा गार्मेन्टसँग सम्बन्धीत क्षेत्र रहेको छ । जसले यस अवधिमा कूल कर्जाको ०.८० प्रतिशत अर्थात पाँच करोड ४७ लाख रुपैयाँ बराबरको पुनरकर्जा लिएका छन् । 
त्यसैगरि, स्वास्थ्यसँग समबन्धीत क्षेत्रले यस अवधिमा ४८ करोड ७० लाख बराबरको पुनरकर्जा लिएको देखिएको छ । जुन कूल कर्जाको ७.१६ प्रतिशत हो । त्यस्तै, शिक्षा क्षेत्रसँग सम्बन्धीत संघ संस्थाहरुले चालू आर्थिक वर्षको असोज मसान्तसम्म २४ करोड ५० लाख रुपैयाँ बराबरको पुनरकर्जा प्रयोग गरेका छन् । जुन कूल कर्जाको ३.६० प्रतिशत हो । त्यस्तै, यातायात क्षेत्रले पुनरकर्जाको रकम मध्ये १३ करोड ५० लाख बराबर लिएको छ । जुन कूल कर्जा प्रवाह मध्येको १.९९ प्रतिशत हो । यता उत्पादनमुलक क्षेत्रले यस अवधिमा ८० लाख बराबरको पुनरकर्जाको रकम लिएका छन् । जुन कूल कर्जा प्रवाह भएको रकममध्ये ११.८८ प्रतिशत हो । 

प्रतिक्रिया दिनुहोस