
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर खरिदका लागि आवेदन दिने कात्तिक २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक १४ गतेसम्मको निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर खरिदका लागि अवधि थप गरी कात्तिक २९ गतेसम्मको मिति तय गरेको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री खुला गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन् ।
यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
एक्सेल डेभलपमेण्ट बैंकको अन्तिम शेयर मूल्य दोस्रो बजारमा आइतवार ६२५ रुपैयाँ कायम भएको छ । यो दिन कम्पनीको शेयरमूल्य न्यूनतम ६१० रुपैयाँ देखि अधिकतम ६३९ दशमलव ९० रुपैयाँसम्म पुगेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस