aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

आनन्दभक्त राजभण्डारीको नेतृत्वमा २७ वर्ष चलेको नेपाल बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
आनन्दभक्त राजभण्डारीको नेतृत्वमा २७ वर्ष चलेको नेपाल बैंक

नेपाल बैंक लिमिटेड आजबाट ८४ वर्ष पार गरेर ८५ वर्षमा प्रवेश गर्दैछ । यसक्रममा यो बैंकले धेरै आरोह अवरोहहरु भोगेको छ । देखेको छ । आफैभित्रबाट आफूलाई नै नियमन गर्ने नेपाल राष्ट्र बैंक जन्माएको नेपाल बैंक नेपालकै पहिलो बैंक हो । 

यसले पार गरेका ८४ वर्षलाई चार चरणमा विभाजन गरेर ब्याख्या गर्न रुचाउँछन्, हाल यो बैंकको नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृत, कृष्ण बहादुर अधिकारी । पहिलो बैंक भएको नाताले बैंकिङ सेवाको बानी आम नागरिकलाई बसाल्ने दायित्व पुरा गर्दै अहिलेसम्म यो बैंकले गौरवमय यात्रा गरेको उनी बताउँछन् । यसलाई जम्मा ४ कालखण्डमा विभाजन गरेर ऐतिहासिक विश्लेषण गर्न सकिन्छ । 

पहिलो चरणः स्थापनादेखि वि.सं २०४५ सम्म
यो खण्ड नेपाल बैंकको इतिहासमा सुनौलो युग हो । यो कालखण्डमा नेपाल बैंकले प्रतिस्पर्धाविहिन बैंकिङ कारोबार गर्ने मौका पायो । त्यसबेला सरकारी बैंकहरु मात्र थिए । अनि नेपाल बैंक पनि अत्यन्तै सुदृढ र बलियोे थियो । 

नेपाल बैंक शुरु गर्दा वि. सं १९९४ मा एक जना भारतीय नागरिकलाई नेपालमा ल्याएर त्यसको महाप्रवन्धक(जिएम) बनाइएको थियो । ठाकुरसिंह कठैत नाम गरेका ती भारतीय नागरिक नेपाली भाषा समेत बुझ्ने र बोल्ने थिए । उनको समूहमा अरु केहि भारतीय नागरिक पनि थिए । यसरी सुरुवातीदिनमा भारतिय नागरिकहरुको नेतृत्वमा चलेको यो बैंक त्यसपछि बेलायति नागरिकको नेतृत्वमा अगाडी बढ्यो । 

पछि आनन्दभक्त राजभण्डारीको नेतृत्वमा विं सं २०२० सालदेखि भने नेपाली नागरिकले नै यो बैंकलाई चलाए । पहिलो नेपाली जिएमकोरुपमा काम गरेका उनले २००३ साल असार १ गते नेपाल बैंकको जागिर सुरु गरेर १७ वर्षपछि त्यसको जिएम बन्ने मौका पाएका थिए । त्यो पनि २०२२ सालसम्म कामु जिएमकारुपमा काम गर्नु पर्यो । 

पछि २०३७ सालसम्म राजभण्डारी कै नेतृत्वमा नेपाल बैंक चल्यो । यसरी एकै व्यक्तिले १७ वर्ष हाकेपछि २०३७ सालमा नयाँ जिएम त नियुक्त भए तर तयो भनदा माथी फेरि पनि राज भण्डारी नै थिए । २०३७ पुस १ गते राजिनामा दिएका राज भण्डारीको पदत्याग एक् महिनापछि लागू भयो भने त्यति मितिदेखि उनी फेरि दुई वर्षका लागि सल्लाहकारकारुपमा नियुक्त भए । 

यसरी पूर्णकालिन सल्लाहकारकारुपमा राजभण्डारीले तत्कालिन जिएमभन्दा बढी तलब खाएर काम गरे हालका सिईओ अधिकारी बताउँछन । तर, बिडम्बना नयाँ जिएमले काम गर्न सकेनन् । दुई वर्ष नपुग्दै फेरि राज भण्डारीलाई नै जिम्मेबारी दिनु पर्ने अवस्था आयो । त्यसपछि सुरुमा तीन वर्ष, फेरि दुई वर्ष अनि पुनः एक वर्ष गरेर उनले जिएमकारुपमा नेपाल बैंकको नेतृत्व गरे । 

विं सं २०४५ साल माघ ८ गते राजभण्डारीको कार्यकाल सकिएसँगै नेपाल बैंकको इतिहासको पहिलो चरण पनि पुरा भयो । भलै उनी अझै दुई वर्षसम्म सञ्चालक समितिको सञ्चालककारुपमा सक्रिय नै थिए । यो चरणमा एउटै व्यक्तिले लामो समयसम्म नेतृत्व हाक्दा उत्तराधिकारीको विकास हुन सकेन । एउटै व्यक्तिमा अधिकारहरु केन्द्रिकृत भए । यो त्यसबेलाको दुर्भल पक्ष हो । तथापि राजभण्डारीको नेतृत्वसम्मको नेपाल बैंकलाई अझै पनि धेरै सेवाग्राहीहरुले स्मरण गर्छन । जसलाई सुनौलो युग भन्न हिच्किचाउनु पर्ने छैन । 

दोस्रो चरणः संकटपूर्ण कालखण्ड 
विं सं २०४६ सालदेखि २०५८ सालसम्मको कालखण्ड नेपाल बैंकको लागि संकटपूर्ण समय रह्यो । मुलुकमा राजनीतिक परिवर्तन र बहुदल स्थापनासँगै नेपाल बैंकमा भने राजनीति छिर्यो र त्यसले निकै ठूलो समस्या उत्पन्न गरायो । नेपाल बैंकको खराव कर्जा बढेर तयसबेला ६० प्रतिशतसम्म पुग्यो । ३८ करोड पुँजी भएको बैंकको १० अर्ब नकारात्मक नेटवर्थ बढ्यो । 

त्यसबेला स्थिती यस्तो थियो कि नेपाल बैंकका कर्मचारी निक्षेपबाट तलब खाएर बस्थे । वार्षिक तीन अर्वकादरले नेपाल बैंक घाटामा पुग्यो । अरु त कुरै छोडौँ नेपाल बैंक वार्षिक अडिट सकेत गर्न नसक्ने अवस्थामा पुग्यो । 

तेस्रो चरणः सुधारका वर्ष 
नेपाल बैंक लगायतका वित्तीय संस्थाहरुमा समस्या आएपछि नेपाल सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्रम अगाडी सार्यो । नेपाल बैंक, वाणिज्य बैंक र नेपाल राष्ट्र बैंकको समेत रिइन्जिनियरिङ गर्न सरकार लाग्यो । सरकारले एउटा विदेशी समूहलाई ल्याएर नेपाल बैंकको समस्याको अध्ययन गरायो । जसको निचोड थियो–नेपाल बैंक लिमिटेड इज टेक्निकल्लि इन्सल्भेन्ट । 

व्यवस्थापनको कमजोरी, कर्जा दिने क्रममा हुने अनियमिततादेखि लगत राख्ने प्रणाली समेत अत्यन्तै कमजोर रहेको निश्कर्षमा विदेशी अध्ययनकर्ताहरु पुगे । अनुसन्धानका क्रममा यस्तो नतिजा देखिएपछि नेपाल बैंक लिमिटेडलाई विं सं २०५८ साल चैत्र १ गते राष्ट्र बैंकले प्रत्यक्ष नियन्त्रणमा लियो । त्यसपछि विं सं २०५९ साल साउनदेखि नेपाल बैंकको व्यवस्थापन जिम्मा विदेशीलाई दिईयो । त्यसपछि विं सं २०७१ सम्मको कालखण्डलाई सुधारका वर्ष भन्न सकिन्छ ।

यसबीच विदेशी व्यवस्थापनले विं सं. २०६४ साल (पाँच वर्ष) काम गरेपछि फेरि नेपाल राष्ट्र बैंकले २०७१ सालसम्म यसको व्यवस्थापनको जिम्मा लियो । यस अवधिमा नेपाल बैंकका गतिविधीहरुलाई चुस्त, प्रभावकारी र व्यवस्थित गर्ने काम भयो । खराब कर्जा उल्लेख्य मात्रामा घट्यो । आन्तरिक व्यवस्थापनलाई सुधार गर्नेदेखि समयमै अडिट गर्नेसम्मका काम भए । 

चौथो चरणःविं सं २०७१ देखि हालसम्म 
नेपाल बैंकको प्रतयक्ष व्यवस्थापनबाटविं सं २०७१ साल चैत्र १२ गतेदेखि नेपाल राष्ट्र बैंकपछि हट्यो । त्यसपछि नेपालमा वित्तीय क्षेत्र सुधारको कार्यक्रम सरकारले ल्यायो । उक्त समयमा नेपाल बैंक बाणिज्य बैंक र नेपाल राष्ट्र बैंक समेतमा उक्त कार्यक्रम लागू गरियो । त्यसपछि बिश्व बैंकबाट ऋण सहयोग समेत लिई वित्तीय क्षेत्र सुधार कार्यक्रम (आईसीसीएमटी) मार्फत नेपाल बैंकलाई सुधार गर्न सुरु गरियो ।त्यस बेला नेपाल बैंक र बाणिज्य बैंकमा विदेशी कम्पनीलाई महगो तलकब सुविधा (३० हजार डलर प्रति महिना) तिरेर व्यवस्थापन ल्याइयो । त्यसपछि राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा केहि समय नेपाल बैंक चल्यौ । 

यसपछिको कालखण्डलाई चौथो चरणकारुपमा व्याख्या गर्न सकिन्छ । त्यो मितिमा खुल्ला प्रतिस्पर्धाबाट देवेन्द्र प्रताव शाहले नेपाल बैंकको नेतृत्व शुरु गरे । त्यसपछि नेपाल बैंक पनि प्रतिस्पर्धी क्षमताका साथ बजार निर्देशित गतिविधीसहित अगाडी बढीरहेको छ । 

यसपछि नेपाल बैंक अरु बैंक सो सरह आफ्ना गतिविधीलाई परिष्कृत गर्दै अगाडी बढीरहेको छ । नेपाल बैंक अहिले सेवा प्रवाहदेखि व्यवसायिक क्रियाकलापमा समेत अरु बैंकसँग प्रतिस्पर्धामा छ र आफूलाई अब्बल प्रमाणित गरिरहेको छ । 

यसरी आजको मितिसम्म आइपुग्दा नेपाल बैंकले धेरै उत्तारचढाव भोग्यो । अत्यन्तै कठिनतम कालखण्डदेखि स्वर्णिम युगको समेत अनुभुत गर्यो । र, अहिले एक प्रतिस्पर्धी व्यवसायिक बैंककारुपमा आफूलाई आधुनिक र युवा जनशक्तिद्धारा सञ्चालित उच्चकोटीको बैंककारुपमा स्थापित गर्ने दिशामा लागिरहेको छ । 

नयाँ प्रविधिको प्रयोग, प्रतिस्पर्धी रणनीति, आधुनिक बैंकिङ अभ्याससहित सेवामुखी बैंकिङको जिम्मेबारी पुरा गर्दै नेपाल बैंकले ८४ औँ वर्ष पुरा गरेर ८५ औँ वर्ष प्रवेश गर्दासम्म हासिल गरेका अनुभव समेत यो बैंकका महत्वपूर्ण सम्पत्तिहरुमध्ये एक हो । (नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँग गरिएको सम्वादमा आधारित) 
 

प्रतिक्रिया दिनुहोस