
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २९ गते २७औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । सो सभा प्रयोजनका लागि बैंकले मंसिर १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । बैंकले नेप्से मार्फत सार्वजनिक गरेको सुचनामा सभा सम्बन्धी अन्य जानकारी भने गराएको छैन् ।
बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैंकको यस वर्षको लाभांश विगत तीन आर्थिक वर्षको भन्दा कम रहेको छ । गत वर्ष १६ प्रतिशत , अघिल्लो वर्ष १७ प्रतिशत र त्यस अघिको वर्ष २५ प्रतिशतसम्म लाभांश वितरण गरेको बैंकले यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस