aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
बिग मर्जरको सकस अझै सकिएन

‘लभ’ गर्ने बैंक धेरै भए, जोडी बाध्ने कोसँग ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
‘लभ’ गर्ने बैंक धेरै भए, जोडी बाध्ने कोसँग ?

काठमाडौं । बिग मर्जरमा जानका लागि तेस्रो पुस्ताका वाणिज्य बैंकको मुख्य रोजाइ पहिलो पुस्ताका बैंकहरु भएका छन् । तेस्रो पुस्ता अर्थात पछिल्लोपटक सञ्चालनमा आएका वाणिज्य बैंकहरु पहिलो पुस्ता अर्थात शुरु–शुरुमा खुलेका बैंकसँग मर्जरमा जाँदा फाइदा बढी हुने भएकाले पनि उनीहरुको मुख्य रोजाइ पहिलो पुस्ताका बैंक हुन पुगेको हो ।

तेस्रो पुस्ताका सिभिल, सेञ्चुरीलगायतका बैंकहरु पहिलो पुस्ताका नबिल, एभरेष्ट, हिमालयन, नेपाल इन्भेष्टमेन्टलगायतका बैंकसँग मर्जरमा जान इच्छुक देखिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको शब्दमा भन्दा ‘लभ परेको छ अब भित्रिन मात्रै बाँकी छ ।’ तर, त्यो प्रेम एकतर्फी प्रेम हो कि दोहोरो हो भन्ने कुरा भने झनै खुलेको छैन । 

पहिलो पुस्ताका बैंकसँग मर्जरमा जाँदा स्वाप रेसियो बढी हुने र ठूलो बैंकको सञ्चालक हुन पाइने भएकाले तेस्रो पुस्ताका बैंकको पहिलो रोजाइ पहिलो पुस्ताको बैंक भएको हो । पछिल्लो पुस्ताको सिभिल बैंकले पहिलो पुस्ताको हिमालयन बैंक, एभरेष्ट बैंकसँग कुरा अगाडि बढाएको छ । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले पहिलो पुस्ताका बैंकसँग कुराकानी भइरहेको जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिए । तर, उनले शेयर बजारमा असर पर्ने भएकाले कुन बैंकसँग मर्जरमा जान लागेको भन्ने बारेमा भने खुलाउन चाहेनन् । 

सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरमा जाने अन्तिम तयारी भइरहेको राष्ट्र बैंक स्रोतको भनाइ छ । यदी पहिलो पुस्ताको बैंकसँग मर्जरमा जान सम्भव नभए दोस्रो पुस्ताका बैंकसँग मर्जरमा सक्ने सम्भावना पनि उत्तिकै रहेको अध्यक्ष तामाङको भनाइ छ । दोस्रो पुस्ताका बैंक पनि सकेसम्म पहिलो पुस्ताकै बैंकसँग मर्जरमा जान इच्छुक देखिएका छन् । दोस्रो पुस्ताको लक्ष्मी बैंक यसअघि नै पहिलो पुस्ताको एभरेष्ट बैंकसँग मर्जरमा जान चाहेको थियो । तर, उनीहरुको कुरा स्वाप र सञ्चालक समितिमा नमिलेपछि मर्जर तोडिएको थियो ।

अहिले पनि दोस्रो पुस्ताका कुमारी बैंक, लक्ष्मी बैंक, बंगालादेश बैंक, एनसीसी बैंक, सिद्धार्थ, सनराइज, सिटिजन्स, माछापुच्छे«, सानिमा, प्राइमलगायतका बैंकहरु मर्जरमा जान चाहेका छैनन् । मर्जरमा जान बाध्य परिए पहिलो पुस्ताकै बैंकसँग मर्जरमा चाहान्छन् ।तेस्रो र दोस्रो पुस्ताका बैंकले मर्जरमा जान धेरै इच्छा देखाउन थालेपछि पहिलो पुस्ताका बैंकको शान अलि धेरै बढेको छ । बिग मर्जरको हल्ला बाहिर आएसँगै उनीहरुको शान बढदै गएको छ । तेस्रो र दोस्रो पुस्ताका धेरै बैंक पहिलो पुस्ताको हिमालयन बैंकसँग मर्जरमा जान इच्छुक देखिएका छन् । स्टान्डर्ड चार्टर्डले मर्जरमा नजाने बताइसकेको छ । नबिल बैंकले आफ्नो शान उच्च भएको र अन्यलाई गन्दै नगन्ने अवस्थामा छ । उ धनी बाउको एक्लो छोरोजस्तै छ । एभरेष्ट पन्जाब नेशनल बैंकको सहकार्यको रवाफ देखाएर खाइरहेको छ । एसबीआई पनि त्यस्तै छ । दरबारमार्गमा रहेकाले पनि होला, इन्भेष्टमेन्ट बैंकले आफूलाई ‘राजा’ नै ठान्छ । 


पहिलो पुस्ताका बैंकको रवाफ दोस्रो र तेस्रो पुस्ताका बैंकलाई मन पर्दैन । तर, पनि बाध्यता छ । राष्ट्र बैंकले पनि तेस्रो र दोस्रो पुस्ताका बैंकलाई नै बढी पेल्ने गरेको छ । पहिलो पुस्ताका बैंकले गल्ती गर्दा पनि छाकछोप गर्ने तर दोस्रो र तेस्रो पुस्ताका बैंकले गल्ती नै नगर्दा पनि धारे हात लगाउने गरेको छ । बिग मर्जर पनि दोस्रो र तेस्रो पुस्ताका बैंकलाई सजाय दिन ल्याउन लागिएको बताइन्छ । केही मानिसको इसारामा गभर्नर नेपालले बिग मर्जरको अवधारणा ल्याउन लागेको राष्ट्र बैंक स्रोतको भनाइ छ । बिग मर्जरको अवधारणा ल्याइएमा तेस्रो पुस्ताका बैंक पहिलो पुस्तासँग मर्जरमा जान नसके दोस्रो पुस्ताका बैंकसँग मर्जरमा जाने तयारी बनाएका छन् । 

सिभिल बैंकका अध्यक्ष तामाङले दोस्रो पुस्ताका बैंकसँग पनि कुरा भइरहेको बताए । सेञ्चुरी बैंकले पनि त्यस्तै अवधारणा बनाएको बुझिएको छ । तेस्रो पुस्ताको जनता बैंक दोस्रो पुस्ताको ग्लोबल आइएमई बैंकसँग मर्जरमा गएजस्तै अन्य बैंक पनि त्यसैगरी जाने तयारी छन् । पहिलो पुस्ता र दोस्रो पुस्ताका बैंकबीच मर्जर पनि हुन नसके पहिलो पुस्ताका बैंकसँग त्यही पुस्ताका बैंकबीच मर्ज हुने स्थिति पनि आउन सक्छ । 
त्यसैगरी, दोस्रो पुस्ताका बैंक पनि पहिलो पुस्ताका बैंकसँग मर्जरमा जान नसके दोस्रो पुस्ताकै बैंकबीच आपसमा मर्जरमा जान सक्ने छन् । गभर्नर नेपालले बैंकहरुलाई मौद्रिक नीतिअघि नै बिग मर्जरमा जानका लागि जोडी खोज्न आग्रह गरेपछि करिब डेढ दर्जन वाणिज्य बैंक बिग मर्जरमा जान इच्छुक देखिएर राष्ट बैंकमा निवेदन दर्ता गराइसकेका छन् । तर, उनीहरु कोसँग मर्जरमा जाने भन्नेमा भने केही खुलाएका छैनन् ।

बिग मर्जरको हल्लासँगै बैंकका अध्यक्ष, सञ्चालक, ठूला लगानीकर्ता र सीईओहरु मर्जर तथा एक्वायरका लागि जोडी खोज्न लागि परेका थिए । तर, अहिले गभर्नर बिग मर्जरबाट ब्याक हुने सम्भावना बढ्दै गएपछि बिग मर्जर हल्ला पनि सेलाउँदै गएको छ । बिग मर्जरमा जान तयार भएका बैंक तथा वित्तीय संस्थाहरुमा समेत उत्साहमा कमी आएको छ ।  बिग मर्जरको हल्ला नआउँदै पनि बैंक तथा वित्तीय संस्थाहरुमा मर्जर तथा एक्विजिसनको लहर शुरु भएको थियो । वाणिज्य बैंकमा धेरैजसो विकास बैंक र फाइनान्स कम्पनी मर्जर तथा एक्वायरमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस