
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेको छ । यस दिन कम्पनीको शेयरमूल्य न्यूनतम १ हजार ३८५ रुपैयाँदेखि अधिकतम १ हजार ४४९ रुपैयाँ सम्म पुगेर अन्तिम मूल्य भने १ हजार ४४० रुपैयाँ कायम भएको हो ।
यस दिन कम्पनीका ४ करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको ३० हजार ३८२ कित्ता शेयर कारोबार भएको छ । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर २४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले होटल वाटर टावर, नुवाकोटमा विहान ११ः३० बजे सभा बोलाएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस