
काठमाडौं । आईपीओ पश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन ७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको २ लाख ४ हजार ८५२ कित्ता शेयर कारोबार भएको छ । निफ्राले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ बराबर अर्थात शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
बैंकले अघि प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैैंकको निर्देशन बमोजिम संशोधन गरेको हो । यस अघि बैंकले ८ दशमलव ५ प्रतिशत कर समेत नगद लाभांश प्रस्ताव गरेको थियो । हाल बैंकको चुक्तापूँजी २० अर्ब रुपैयाँ रहेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ९ गते एक दिन बुक क्लोज गर्ने भएकाले बुक क्लोजको आधारमा मंसिर ८ गते बुधवार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । बुधवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश प्र्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । लाभांश सुरक्षित गर्ने अन्तिम दिन कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो कारोबार दिनको भन्दा प्रतिकित्ता ५ रुपैयाँले बढेको छ । बैंकको अन्तिम शेयरमूल्य यस दिन प्रतिकित्ता ३५८ रुपैयाँ कायम भएको हो ।
कम्पनीले आईपीओ जारी गरेपश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । कम्पनीले २०७७ साल माघ २ गतेदेखि ६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी माघ १८ गते बाँडफाँट गरेकोे थियो । आईपीओ विक्री गरेको पहिलो वर्षमै कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस