aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

शुक्रवार नेप्सेमा दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयरमुल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
शुक्रवार नेप्सेमा दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले स्ट्याण्डर्ड चार्टर्ड बैंक , बैंक अफ काठमाण्डू र प्राइम लाईफ इन्स्योरेन्सको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

यी तीन ओटै कम्पनीहरुले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि मंसिर १० गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तय गरिदिएको हो । 

नेप्सेले बैंक अफ काठमाण्डूको बिहीवार कायम अन्तिम शेयरमूल्य ३४१ रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य ३१० रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको बिहीवार कायम अन्तिम शेयरमूल्य ५३५ दशमलव १० रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य ४८६ दशमलव ४५ रुपैयाँ र प्राइम लाईफ इन्स्योरेन्सको बिहीवार कायम अन्तिम शेयरमूल्य ८७० रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयरपछिको मूल्य ७५६ दशमलव ५२ रुपैयाँ तोकेको हो ।

आइतवार यी तीन कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ । आइतवारदेखि कारोबारमा सहभागी शेयरधनीहरुले भने यी कम्पनीहरुको प्रस्तावित लाभांश प्राप्त गर्ने छैनन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते ३५ औं वार्षिक साधारण सभा मार्फत गत आर्थिक वर्ष ०७७÷७८ सम्मको मुनाफाबाट १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजन समेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै बैंक अफ काठमाण्डूले मंसिर २९ गते २७औं वार्षिक साधारण सभामार्फत १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले भने मंसिर १९ गते आव्हान गरेको १४औं वार्षिक साधारण सभामार्फत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस