aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमचुली सहकारीका सुरक्षागार्डको हत्या, रकम लुटपाट गर्ने दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ मंसिर २०७८
हिमचुली सहकारीका सुरक्षागार्डको हत्या, रकम लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । दोलखा गौरीशंकर गाउँपालिका १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त  गाउँपालिका १ जुगु बस्ने २७ वर्षीय विक्रम कार्की र सोही ठाउँ बस्ने २० वर्षीय सुमन कार्की रहेका छन् ।  

पूर्ण बहादुरलाई गत कार्तिक १० गते अज्ञात समूहले नियन्त्रणमा लिई उक्त सहकारीबाट नगद १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटपाट गरी फरार रहेकोमा गौरीशंकर गाउँपालिका १ जुगुस्थित जंगलमा हातखुट्टा  डोरीले तथा मुख खादाले बाँधिएको र निधारमा घाउचोट लागेको अवस्थामा कात्तिक १२ गते उनको शव फेला परेको थियो । 

उक्त घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विक्रमलाई काठमाडौं महानगरपालिका ३२ तिनकुने र सुमनलाई काठमाडौं महानगरपालिका ६ चुच्चेपाटीबाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट लुटिएको मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाईएको उक्त ब्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस