
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको गत आर्थिक वर्षको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट स्वीकृत भएको जानकारी सोमवार कम्पनीले नेप्से मार्फत गराएको हो ।
कम्पनीको कात्तिक १३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष नव किरण लघुवित्तसँग मर्जर प्रकृयामा गएकाले बोनस शेयरमा लाग्ने करमा भने छुट हुनेछ । नवकिरण लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ मंंसिर ८ गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो ।
नेपाल राष्ट्र बैंकले लाभांश प्रस्ताव सहित वित्तीय विवरणहरु स्वीकृत गरेसँगै कम्पनीलाई वार्षिक साधारणसभाको बाटो खुला भएको छ । यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस