
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लुम्बिनी विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
बैंकको आइतवार कायम अन्तिम शेयरमूल्य ४८५ दशमलव ५० को आधारमा बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ४२९ दशमलव ६५ तोकेको हो । बैंकले यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश समेत वितरणको प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ९० करोड ६४ लाख ५३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यस अघि प्रस्तावित लाभांश संशोधन गरेको हो । यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २७ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस