
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २३ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २६ गतेको सञ्चालक समितिको बैठकले मकवानपुरको होटल सामनामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । सभाले कम्पनीले प्रस्ताव गरेको कुल ३० प्रतिशत लाभांशलाई पनि वितरणयोग्य बनाउँनेछ ।
कम्पनीको मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८३ करोड रहेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १ प्रतिशत बढी लाभांश वितरणको प्रस्ताव गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट गत वर्ष कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ७ प्रतिशत नगद लाभांश विरण गरेको थियो । कम्पनीको हालसम्मको लाभांश इतिहासलाई फर्केर हेर्दा कुल ४८ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०६९÷७० को मुनाफाबाट कम्पनीले ३३ दशमलव २३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यी प्रस्तावसँगै सभाले सर्वसाधारण शेयरधनीहरु तर्फबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस