aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनसीसी बैंकले बोलायो साधारण सभा,  ८.४२ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
एनसीसी बैंकले बोलायो साधारण सभा,  ८.४२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले पुस २९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठले बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक, बागबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी सभा भर्चुअल माध्यमाबाट गर्ने तयारी बैंकले गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । यस वर्षका लागि प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांशलाई पनि सभाले अन्तिम रुप दिनेछ । 

बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ४५ लाख १६ हजार छ । 

यस वर्ष बैंकले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष बैंकले १० दशमलव २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यी प्रस्तावहरुसँगै बैंकले बोनस शेयरपश्चात पूँजी बृद्धि हुने हुदाँ सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार पुग्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीको विषयमा पनि सभामा छलफल हुनेछ । सो प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने बैंकले जानकारी दिएको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  
 

प्रतिक्रिया दिनुहोस