
काठमाडौं । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । यस वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेकाले सो प्रस्ताव समेत सभाले पारित गर्नेछ । गत आर्थिक वषमै कम्पनीले नागबेली लघुवित्त र स्वेडा लघुवित्तलाई प्राप्ती गरेकाले यस वर्ष बोनस शेयरमा लाग्ने करमा भने छुट हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजार छ ।
उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी समेत सभाले सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
यस कम्पनीले एफपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८० मा रू. ९१ लाख २३ हजार ९८४ दशमलव ८० मूल्य बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । उक्त एफपीओ निष्कासनका लागि कम्पनीले कात्तिक २३ गते बोर्डमा निवेदन पेश गरेको हो । यो एफपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्र्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीले एफपीओको रेटिङ्ग समेत सम्पन्न गराईसकेको छ ।
इक्रा नेपालले कम्पनीको एफपीओलाई आधारभुत पक्ष मध्यम रहेको संकेत गर्ने इक्राएनपी इस्यअर डबल बी रेटिङ्ग प्रदान गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ६ करोड ३७ लाखभन्दा बढी खुुद नाफा गरेको छ भने उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ४१ करोड १७ लाखभन्दा बढी रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ६२ र प्रतिशेयर नेटवर्थ रू. १९४ दशमलव ६५ छ ।
प्रतिक्रिया दिनुहोस