
काठमाडौं । एनएमबि बैंकले प्रस्तावित १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब , टुँडिखेल, काठमाडौंमा बिहीवार सभा सम्पन्न गरी १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १६ अर्ब ३२ करोड ५९ लाख ६० हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।एनएमबि बैंकले आफ्नो जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी बैंकको २६ औं वार्षिक साधारणसभाले उक्त जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो । हाल बैंकको वर्तमान जारी पूँजी १६,३२,५९,६०,८५२.६६ रुपैयाँ रहेको छ । १८,३६,६७,०५,९५९.२४ रुपैयाँ भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै केहि दिनभित्रै जम्मा गर्ने जानकारी दिएको बैंकले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने बताएको छ ।
कुनै वर्ष ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको यस बैंकले यस वर्ष भने अघिल्ला पाँच आर्थिक वर्षपछिकै कम लाभांश दिएको हो । आर्थिक वर्ष ०७५÷७६ को मनुाफाबाट बैंकले हालसम्मकै सर्वाधिक ३५ प्रतिशत लाभांश दिएको थियो । सो वर्ष बैंकले २१ प्रतिशत बोनस शेयर र कर समेत १४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले रू. १ अर्ब ४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४२ दशमलव ४९ प्रतिशत बढी भएको हो । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा रू. ७३ करोड २९ लाखभन्दा बढी थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ४५ करोड ८४ लाख ५२ हजार रहेको छ ।
वितरणयोग्य नाफामा भने यो वर्ष कमि आएको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ५१ करोड ९१ लाखभन्दा बढी थियो । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोषमा रू. ८ अर्ब ६५ करोड ८३ लाखभन्दा बढी रकम कायम रहेको छ । प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव शून्य ३ छ ।
प्रतिक्रिया दिनुहोस