aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

‘असारे विकास’ ले बैंकमा पैसा थुप्रियो, बैंकहरु लगानी गर्ने ठाउँ खोज्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
‘असारे विकास’ ले बैंकमा पैसा थुप्रियो, बैंकहरु लगानी गर्ने ठाउँ खोज्दै

काठमाडौं । आर्थिक वर्षको अन्त्यतिर हतार–हतार गरिने ‘असार विकास’ ले बैंकिङ प्रणालीमा रकम थुप्रिएको छ । ऋण दिन सक्ने रकमको अभाव खेप्दै आएका बैंकहरु अब ऋण दिन सक्ने अवस्थामा पुगेका छन् । ऋण लिन बैंक पुग्ने ग्राहकलाई बैंकका कर्मचारीहरु अहिले चिया कफीबाट स्वागत गर्न थालेका छन् । आर्थिक वर्षको अन्त्यमा गरिने विकासका कारण बैंकहरुको ढुकुटीमा पैसा जम्मा हुन पुगेको हो । 

सरकारले आर्थिक वर्षको अन्त्यमा बजेट सकाउन बाटो पिच गर्नेदेखि खाल्टा खुल्टी पुर्ने कामलाई समेत तीव्रता दिएको थियो । त्यसरी गरिएको खर्च बैंकिङ प्रणालीमा आएपछि बैंकमा लगानीयोग्य रकम जम्मा भएको हो । बैंकहरुले पनि त्यसरी जम्मा हुन आएको रकम ऋण लगानी गर्ने अभियानमा लागेका छन् ।

अहिले बैंकिङ प्रणालीमा करिब ८० अर्ब लगानी गर्ने रकम भएको राष्ट्र बैंकको भनाइ छ । नेपाल बैंकर्स संघको तथ्यांकलाई हेर्ने हो भने २८ वाणिज्य बैंकले असारसम्म २८ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर २४ खर्ब ९८ अर्ब लगानी गरेका छन् । 

निक्षेप संकलनलाई तीव्रता दिँदै आएका बैंकहरुले साउन लागेसँगै कर्जा लगानीलाई प्राथमिकता दिन थालेका छन् । किसानलाई साउनमा रोपेको धान कात्तिक मंसिरमा भित्र्याउने चटारोमा भएजस्तै बैंक तथा वित्तीय संस्थका कर्मचारी ऋण लगानी गर्ने चटारोमा छन् । आर्थिक वर्ष शुरु भएकाले पनि बैंकहरुले अहिले निक्षेप संकलनभन्दा ऋण लगानीलाई प्राथमिकता दिन थालेका छन् ।

यसअघि नेपाल राष्ट्र बैंकले कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) नाघेका वाणिज्य बैंकलाई कारबाही गर्ने चेतावनी दिएपछि कारबाहीबाट बच्न ती बैंकहरुले कर्जा लगानी ठप्प पारेका थिए । 

केही बैंकहरुले कर्जा–निक्षेप अनुपातको ख्याल नै नगरी आक्रमक रुपमा कर्जा लगानी गरेको भन्दै केन्द्रीय बैंकले कारबाही गर्ने चेतावनी दिएपछि ती बैंकहरुले आर्थिक वर्षको अन्त्य हुनु अघि नै कर्जा लगानी कम गर्दै आएका थिए ।

राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरेको छ ।  अर्थात १०० रुपैयाँ बैंकमा जम्मा भयो भने ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन् । उक्त व्यवस्थालाई बेवास्ता गर्दै केही बैंकहरुले आक्रमक रुपमा कर्जा प्रवाह गर्न थालेपछि सीसीडी रेसियोभित्र रहन राष्ट्र बैंकले चेतवनी दिँदै आएको थियो । केन्द्रीय बैंकले सीसीडी रेसियो कायम गर्न वाणिज्य बैंकलाई निर्देशन दिँदै आएको छ । आर्थिक वर्षको अन्त्य पनि सकिएको र सीसीडी रेसियो ८० प्रतिशतभन्दा निकै तल आएकाले बैंकहरुले लगानीलाई तीव्रता दिन थालेका हुन् । 

यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केही वाणिज्य बैंकको सीसीडी रेसियो नाघेको भन्दै कारबाही चेतावनी दिएका थिए । सीसीडी रेसियो कायम नहुँदा जोखिम बढ्छ । बैंकहरु डुब्छन् । जनताको पैसा पनि डुब्छ । त्यसकारण पनि केन्द्रीय बैंक उक्त व्यवस्था कडाइका साथ लागू गर्दै आएको छ ।

राष्ट्र बैंकले सीसीडी रेसियो कायम नगर्ने बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन दिँदै आएको छ । ‘बैंकहरुमा लगानीयोग्य रकम थपिएपछि सीसीडी रेसियोको कुनै समस्या छैन्, त्यसैले कर्जा बढाउने तयारीमा पुगेका हांै’, एक बैंकरले भने । 

सीसीडी रेसियो ८० प्रतिशतभन्दा कम भएकाले कर्जा प्रवाह बढाउने अवस्था रहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘विगतका वर्षमा पनि बैंकहरुले साउन लागेपछि  ऋण बढाउने गर्दथे,’ बैंकमा ऋण लिन पुगेको एक व्यक्तिले भने–‘अहिले पनि साउनदेखि नै त्यसै गर्दैछन् ।’
 

प्रतिक्रिया दिनुहोस