
काठमाडौं । पुस ७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयर १८ दशमलव १३ प्रतिशत मात्र विक्री भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार पुस २५ गतेसम्म १ हजार ९९५ जना आवेदकहरुले २ लाख ३७ हजार ९२० कित्ताका लागि आवेदन दिएका हुन ।
कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने पुस २७ गते मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । पहिलो चरणमा वितरण हुन नसकेमा लिलामी प्रकृयाबाट कम्पनीले बाँकी शेयर विक्री गर्नुपर्ने हुन्छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो मार्फत पनि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ्ग प्र्रदान गरेको छ ।
गत असार ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि मंसिर ३ गते बोर्डबाट अनुमति पाएको हो । यस अघि पनि कम्पनीले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।
बैंकले २०७७ साल माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद निष्काशन गर्न बैंकलाई स्वीकृति दिएसँगै सोही अनुपातमा कम्पनीले हकप्रद शेयर विक्री गरेको हो । पूँजी बृद्धिमा जोड दिईरहेको यस बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल सम्पत्ति रू. ३५ करोड २१ लाख ३४ हजार छ ।
गत वर्ष यसै अवधिसम्म बैंकको कुल सम्पत्ति रू. ३२ करोड ५७ लाख ७२ हजार थियो । यस वर्ष बैंकको कुल सम्पत्ति रकम पनि बढेको छ । पहिलो त्रैमाससम्म बैंकको जगेडा कोष रकम रू. १७ करोड ८ लाख ४४ हजार र शेयर प्रिमियममा रू. २९ लाख ५६ हजार छ । यस अवधिसम्म बैंकले रू. ९ लाख ११ हजार खुद नोक्सानी व्यहोरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. ४७ लाख ४ हजार खुद नोक्सानीमा थियो । यस वर्ष खुद नोक्सानी कम गर्न कम्पनी सफल भएको छ । पहिलो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ रू. ६५ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने रू. २ दशमलव ७८ ऋणात्मक छ । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर निष्कासन पश्चात यो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस