aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जनसंख्याभन्दा बढी बैंक खाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
जनसंख्याभन्दा बढी बैंक खाता

काठमाडौं । नेपालको जनगणना २०११को नेपालको कुल जनसंख्याभन्दा बढी बैंक खाता रहेको  तथ्यांकले देखाएको छ ।  बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा उक्त तथ्याङ्कमा देखिएको हो । बैंकहरुमा खाता खोल्नेको संख्या २ करोड ७३ लाख पुगेको छ । सन् २०११ को जनगणाना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ जना देखाएको छ । 

२०७६ बैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा निक्षेपतर्फ २ करोड ७३ लाख छ भने ऋणीको खाता भने जम्मा १४ लाख ५४ हजार मात्रै छ ।  

सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने नीति अनुसार २०७६ असारसम्ममा ७३२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् भने २०७५ असारमा वाणिज्य बैंकको संख्या ६३१ रहेको थियो ।


यस्तै,२०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३,५३९, विकास बैंक १,२५०, वित्त कम्पनी २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३,५७० गरी कुल ८५६४ शाखा संख्या पुगेको मौद्रिक नीतिमा उल्लेख छ । २०७५ जेठ मसान्तमा भने बैंकहरूको शाखा संख्या ६४१४ रहेको थियो ।

२०७६ जेठ मसान्तको तथ्याङ्कलाई आधार मान्दा बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३४११ जनसंख्याले सेवा लिन सक्ने अवस्था रहेको छ भने २०७५ जेठ मसान्तमा यस्तो संख्या ४४९३ रहेको उल्लेख छ ।

यस्तै, २०७५ चैत मसान्तमा एटीएम संख्या ३१८८ रहेको छ । त्यसैगरी मोबाइल बैंकिङका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ८ लाख ९३ हजार, जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको मौद्रिक नीति उल्लेख छ ।

 
 

प्रतिक्रिया दिनुहोस